Home Login
प्रविधि

मध्यपूर्वमा बढ्दो तनाव ; दर्जनौं देशद्वारा हवाई क्षेत्र बन्द, विश्वव्यापी उडान सेवा अस्तव्यस्त

काठमाडौँ — मध्यपूर्वमा विकसित पछिल्लो सैन्य मुठभेडका कारण यस क्षेत्रको आकाश पूर्ण रूपमा प्रभावित भएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य आक्रमण तथा प्रत्याक्रमणको शृङ्खलासँगै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मध्यपूर्वका झण्डै एक दर्जन देशहरूले आफ्नो हवाई क्षेत्र (एअरस्पेस) बन्द गर्ने घोषणा गरेका छन् । शनिबारदेखि सुरु भएको यस तनावपूर्ण अवस्थाले गर्दा विश्वकै व्यस्त मानिने हवाई मार्गहरू अहिले शून्य प्रायः देखिएका छन् ।

इरान र इजरायलबीचको द्वन्द्व चर्किएसँगै इरान, इराक, कुवेत, इजरायल र बहराइनको आकाशमा उडानहरूको संख्या ह्वात्तै घटेको छ । वास्तविक समयमा उडान ट्र्याकिङ गर्ने सेवा ‘फ्लाइट राडार’ का अनुसार यी देशका हवाई क्षेत्रहरू अहिले लगभग खाली देखिएका छन् । इरानी नागरिक उड्डयन संगठनले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ भने इजरायलले पनि सुरक्षा कारण देखाउँदै आफ्नो आकाशमा उडान निषेध गरेको छ ।

द्वन्द्वको प्रभाव यी दुई देशमा मात्र सीमित नभई छिमेकी राष्ट्रहरूमा पनि व्यापक रूपमा फैलिएको छ । जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), र सिरियाले पनि आंशिक वा पूर्ण रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । विशेषगरी दुबई र अबु धाबी जस्ता विश्वकै व्यस्त विमानस्थलहरू बन्द हुँदा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विच्छेद भएको छ । कतारको राजधानी दोहामा विष्फोटका आवाजहरू सुनिएपछि कतारी सरकारले इरानी क्षेप्यास्त्र प्रहारको कडा निन्दा गर्दै आफ्नो प्रतिरक्षाको अधिकार सुरक्षित रहेको बताएको छ । यस्तै प्रतिक्रिया यूएई र कुवेतबाट पनि आएको छ, जहाँ इरानी क्षेप्यास्त्रहरूलाई आकाशमै नष्ट गरिएको दाबी गरिएको छ ।

यस सैन्य संकटका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले आफ्ना उडान सेवाहरू धमाधम रद्द वा स्थगित गरिरहेका छन् । जर्मन एयरलाइन्स लुफ्थान्सा, एयर फ्रान्स, केएलएम, र स्पेनी एयरलाइन्स इबेरियाले मार्च ७ सम्मका लागि तेल अभिभ, दुबई, र बेरुत जस्ता गन्तव्यहरूमा उडान नभर्ने निर्णय गरेका छन् ।

हंगेरीको विज एयर र बेलायतको भर्जिन एट्लान्टिकले पनि मध्यपूर्वी आकाशको प्रयोग नगर्ने र उडान मार्ग परिवर्तन गर्ने घोषणा गरेका छन् । टर्किस एयरलाइन्सले मध्यपूर्वका १० देशका लागि आफ्ना उडानहरू स्थगित गरेको छ भने रुसले पनि आफ्ना सबै एयरलाइन्सलाई इरान र इजरायल नजान निर्देशन दिएको छ ।

रुस र युक्रेन युद्धका कारण पहिले नै वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको मध्यपूर्वी हवाई क्षेत्र अहिले बन्द हुँदा एसिया र युरोप जोड्ने हवाई यातायातमा ठूलो धक्का लागेको छ । युरोपेली संघको उड्डयन नियामक (EASA) ले आफ्ना सदस्य राष्ट्रका विमानहरूलाई यो क्षेत्रबाट टाढै रहन सिफारिस गरेको छ । परिस्थिति द्रुत गतिमा परिवर्तन भइरहेको र सैन्य गतिविधि जारी रहेकाले हवाई यात्रा कहिलेदेखि सामान्य हुन्छ भन्ने निश्चित छैन ।

Leave a Reply