Home Login
साईप्रस

मध्यपूर्वको तनावका बीच साइप्रसमा बेलायती सैन्य उपस्थिति

साइप्रस — मध्यपूर्वमा बढ्दै गएको सुरक्षा चुनौती र सम्भावित युद्धको जोखिमलाई मध्यनजर गर्दै बेलायतले साइप्रसमा रहेका आफ्ना सैन्य आधार क्षेत्रहरूमा थप हेलिकप्टर र सैन्य जनशक्ति परिचालन गरेको छ । विशेष गरी लेबनान र आसपासका क्षेत्रमा परिस्थिति बिग्रिएमा त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्न बेलायतले यो तयारी थालेको हो । यसका लागि बेलायती वायुसेनाका विशेष हेलिकप्टरहरू साइप्रसको अक्रोटिरी र धेकेलियास्थित सैन्य आधारमा तैनाथ गरिएका छन् ।

साइप्रस सरकारले यस सैन्य गतिविधिका बारेमा स्पष्ट पार्दै यी आधार क्षेत्रहरूको प्रयोग केवल रक्षात्मक र मानवीय सहायताका लागि मात्र हुने जनाएको छ।  साइप्रसका राष्ट्रपतिले आफ्नो देश कुनै पनि सैन्य आक्रमण वा युद्धको हिस्सा नबन्ने कुरामा जोड दिँदै यी गतिविधिहरू कुनै छिमेकी मुलुकविरुद्ध लक्षित नभएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार साइप्रसको भूमि केवल उद्धार कार्य र मानवीय सहायता पुर्‍याउने उद्देश्यका लागि मात्र प्रयोग गर्न अनुमति दिइएको हो ।

यस क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिरहेको बेला बेलायतको यो कदमलाई आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्ने रणनीतिक तयारीको रूपमा लिइएको छ । साइप्रसले आफूलाई यस क्षेत्रको शान्ति र स्थिरताका लागि ‘सेफ हेभन’ वा सुरक्षित आश्रयस्थलको रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसैले यो सैन्य परिचालन पनि सम्भावित सङ्कटको समयमा सर्वसाधारणको ज्यान जोगाउने प्रयासकै एउटा हिस्सा भएको बताइएको छ ।

Leave a Reply