साइप्रस — पछिल्लो समयमा बढ्दै गएको क्षेत्रीय तनाव र युद्धको अवस्थाका कारण साइप्रसमा तय गरिएका युरोपेली संघका महत्त्वपूर्ण बैठकहरू स्थगित भएका छन् । युरोपेली संघको काउन्सिलको साइप्रस अध्यक्षमण्डलले सुरक्षा र वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पूर्व निर्धारित कार्यक्रमहरूलाई तत्कालका लागि सार्ने निर्णय गरेको हो ।
यही मार्च २ र ३ तारिखका लागि तय गरिएको युरोपेली मामिलाका मन्त्रीहरूको अनौपचारिक बैठक यसअघि नै स्थगित भइसकेको छ । यसैगरी, मार्च ५ र ६ तारिखमा आयोजना हुने भनिएको सांस्कृतिक मामिला सम्बन्धी अनौपचारिक काउन्सिलको बैठक पनि रद्द गरिएको छ । अधिकारीहरूका अनुसार यी बैठकहरू अब अनुकूल समय हेरेर नयाँ मिति तय भएपछि मात्रै सञ्चालन गरिनेछन् ।
बैठकहरू स्थगित भएसँगै त्यहाँको सुरक्षा व्यवस्थापनमा पनि परिवर्तन गरिएको छ। ‘साइप्रस टाइम्स’को रिपोर्ट अनुसार, सम्मेलन केन्द्रमा विशेष ड्युटीमा खटाइएका करिब ३० जना प्रहरी अधिकारीहरूको जिम्मेवारी तत्कालका लागि रद्द गरिएको छ । स्थिति सामान्य नभएसम्म र बैठकहरू पुनः सुचारु नहुँदासम्म ती प्रहरी अधिकारीहरूलाई अन्य विभाग र स्थानमा परिचालन गरिने जानकारी दिइएको छ ।
वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै साइप्रस अध्यक्षमण्डलले यस हप्ताका लागि तय भएका अन्य सबै बैठकहरू भने अनलाइन माध्यम (भर्चुअल) बाट सञ्चालन गर्ने निर्णय गरेको छ । सम्भव भएसम्म भौतिक रूपमै गर्नुपर्ने बैठकहरूका लागि उपयुक्त समय हेरेर नयाँ मिति तोकिने र त्यसको औपचारिक जानकारी चाँडै नै उपलब्ध गराइने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।





