साइप्रस — मध्यपूर्व क्षेत्रमा पछिल्लो समय विकसित हुँदै गएको जटिल सुरक्षा परिस्थितिका कारण सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर विशेष सक्रियता बढाएको छ । यसै सन्दर्भमा, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले एक सार्वजनिक सूचना जारी गर्दै विशेषगरी साइप्रस र इजरायलमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो व्यक्तिगत विवरण तत्काल सरकारी पोर्टलमा दर्ता गराउन विनम्र अनुरोध गरेको छ ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सरकारले साइप्रसमा बसोबास गरिरहेका नेपालीहरूको वास्तविक अवस्था र संख्याको तथ्याङ्क संकलन गर्न खोजेको हो । सम्भावित जोखिमको अवस्थामा नागरिकहरूलाई सुरक्षित राख्न, आवश्यक समन्वय गर्न र आपतकालीन उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि यो विवरण संकलन निकै महत्वपूर्ण हुने मन्त्रालयको भनाइ छ ।
साइप्रसमा ठुलो संख्यामा नेपाली श्रमिक तथा विद्यार्थीहरू रहेकाले उनीहरूको सुरक्षा सरकारको प्राथमिकतामा रहेको छ ।
मन्त्रालयले विवरण संकलनका लागि एक विशेष अनलाइन पोर्टलको व्यवस्था गरेको छ । साइप्रस र इजरायलमा रहेका नेपालीहरूले कन्सुलर सेवा विभागको आधिकारिक लिंक https://legal.nepalconsular.gov.np/urgent-rescue मा गई आफ्नो नाम, राहदानी नम्बर, हालको ठेगाना र सम्पर्क नम्बर जस्ता विवरणहरू प्रविष्ट गर्नुपर्नेछ । यसरी प्राप्त विवरणका आधारमा सम्बन्धित निकायलाई आवश्यक परेको समयमा सञ्चार गर्न र सहयोग पुर्याउन सहज हुने विश्वास लिइएको छ ।
परराष्ट्र मन्त्रालयले साइप्रसमा रहेका सबै नेपाली नागरिकहरूलाई संयमता अपनाउन र स्थानीय सुरक्षा निकायहरूले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न समेत अपिल गरेको छ । साथै, यो सूचनालाई साइप्रसका विभिन्न सहरहरूमा रहेका नेपाली समुदायका सदस्यहरू माझ व्यापक रूपमा पुर्याइदिन र विवरण दर्ता गर्ने कार्यमा एकअर्कालाई सहयोग गर्न समेत विभागले विशेष आग्रह गरेको छ ।





