Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए युवा उपाध्यक्षमा ओमन गौचनको उम्मेदवारी

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं वृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशनका लागि चुनावी सरगर्मी बढ्दै जाँदा बेलायतका स्थापित युवा व्यवसायी ओमन गौचन (ह्यान्सन) ले युवा उपाध्यक्ष पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन् ।

सन् २०२१–२०२३ को कार्यसमितिमा एनआरएनए यूकेको कार्यकारी सदस्यका रूपमा सफल भूमिका निर्वाह गरिसकेका गौचनले यसपटक केन्द्रमा युवाहरूको प्रतिनिधित्व र सशक्तिकरणलाई मुख्य एजेन्डा बनाएका हुन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै गौचनले संसारभर छरिएर रहेका नेपाली युवाहरूलाई एउटै सूत्रमा उनेर एक सशक्त, एकीकृत र सहयोगी नेपाली परिवार निर्माण गर्ने आफ्नो दृढ संकल्प व्यक्त गरेका छन् । उनले युवाहरू केवल भविष्यका कर्णधार मात्र नभई वर्तमानका सक्रिय नेतृत्वकर्ता पनि भएको उल्लेख गर्दै एनआरएनएको संरचनामा युवाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

गौचनले आफ्ना प्रतिवद्धताहरूमा विशेष गरी विश्वव्यापी युवा सञ्जालको निर्माण, नेतृत्व विकास, मेन्टरसीप र व्यावसायिक अवसरहरूको सिर्जनालाई प्राथमिकता दिएका छन् । दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूमा आफ्नो पुर्ख्यौली भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्ने वातावरण बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको उनले बताएका छन् । यसका साथै एनआरएनए आइसीसी, एनसीसी र स्थानीय समुदायबीचको समन्वयलाई प्रभावकारी बनाउँदै संस्थामा पारदर्शिता र परिणाममुखी नेतृत्व स्थापित गर्ने उनले विश्वास दिलाएका छन् ।

“सशक्त युवा बिना सशक्त एनआरएनएको परिकल्पना असम्भव छ,” उम्मेदवारी घोषणाका क्रममा गौचनले भने, “यो केवल मेरो उम्मेदवारी मात्र होइन, बरु विश्वभरका नेपालीहरूको एकता र उज्ज्वल भविष्यका लागि सुरु गरिएको एक अभियान हो ।” ‘एक विश्व, एक नेपाली परिवार’ को नारालाई आत्मसात गर्दै उनले नवप्रवर्तन, उद्यमशीलता र लगानी प्रवर्द्धनका माध्यमबाट डायस्पोराका युवाहरूलाई मातृभूमिसँग जोड्ने प्रतिबद्धता जनाएका छन् ।

आगामी मार्च १४–१५, २०२६ मा काठमाडौँमा हुन गइरहेको महाधिवेशनमा उनले संसारभरका नेपाली सञ्चार माध्यम, विभिन्न संघ–संस्था र समुदायलाई आफ्नो युवा केन्द्रित र भविष्यमुखी अभियानमा साथ दिन अपिल समेत गरेका छन् । युवा जोस र व्यावसायिक अनुभवलाई संस्थाको हितमा लगाउने संकल्प गरेका गौचनको उम्मेदवारीलाई एनआरएनए वृत्तमा चासोका साथ हेरिएको छ ।

Leave a Reply