साइप्रस — प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षणमा सक्रिय नेपाल तामाङ घेदुङ साइप्रसले मञ्जुश्री सम्वत् २८६२ सोनाम ल्होछार (ता ल्हो/घोडा वर्ग) भव्यताका साथ मनाएको छ ।
“तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन” भन्ने मूल आदर्श बोकेर सन् २०१६ मा स्थापना भएको यस संस्थाले गत आइतबार (८ फेब्रुअरी २०२६) का दिन एक बृहत् सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी यो राष्ट्रिय पर्व हर्षोल्लासका साथ सम्पन्न गरेको हो ।
“ह्याङ्ला ग्योअी थेन रिमठिम ह्याङ्सेन तेन्बा, मञ्जुश्री सम्वत् २८६२ ता ल्होला ज्याबाम्हान्बा” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित लोकप्रिय सेलो गायक, वरिष्ठ संगीतकार तथा गीतकार विश्व दोङको विशेष उपस्थिति रहेको थियो । गायक दोङको बेजोड सांगीतिक प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकहरूलाई छमछमी नचाएको थियो । यसका साथै साइप्रसमा रहेका विभिन्न संघ-संस्थाहरूको तर्फबाट आ-आफ्नो समुदाय झल्किने मौलिक नृत्यहरू र स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र सभ्य बनाएको थियो ।

नेपाल तामाङ घेदुङ साइप्रसका अध्यक्ष प्रदिप घलान तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कन्सुलर प्रमुख डा. रामजिवन पन्जियार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने एनआरएनए साइप्रसका अध्यक्ष धातानन्दा पाण्डे विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा साइप्रसस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो जसले कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन भूमिका खेल्यो ।
आयोजक संस्था नेपाल तामाङ घेदुङ साइप्रसले कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण संघ-संस्थाहरू, प्रतिनिधिहरू, मिडियाकर्मी तथा उपस्थित सम्पूर्ण साइप्रसबासी नेपालीहरूमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । प्रवासको भूमिमा यसरी एकजुट भई मनाइएको ल्होछारले नेपालीपन र तामाङ संस्कृतिको जगेर्नामा ठूलो टेवा पुर्याएको महसुस गरिएको छ ।






