लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले पोर्तो शहरमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले आगामी जनवरी २४ र २५ (शनिवार र आइतवार) का दिन पोर्तोमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवाहरू प्रदान गर्न लागेको हो ।
यसअघि नै सूचना जारी गरी जानकारी गराइएको यो शिविरले पोर्तो तथा आसपासका क्षेत्रमा रहेका नेपालीहरूलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । उक्त दुई दिने शिविरलाई लक्षित गर्दै दूतावासले २४ र २५ जनवरीका लागि राहदानी आवेदनको अनलाइन अपोइन्टमेन्ट खुला गरेको छ । तर, दूतावासले सेवाग्राहीहरूलाई सचेत गराउँदै स्पष्ट पारेको छ कि यी मितिका लागि लिइएका अपोइन्टमेन्टहरू केवल पोर्तोमा सञ्चालन हुने शिविरका लागि मात्र मान्य हुनेछन् ।
यदि कसैले यी मितिमा अपोइन्टमेन्ट लिएर पछि राजदूतावास कार्यालयमै आएर राहदानी नवीकरण गर्न चाहेमा त्यो सुविधा उपलब्ध हुनेछैन । तसर्थ, पोर्तो शिविरमा उपस्थित हुन सक्ने व्यक्तिहरूले मात्र यी मितिका लागि अपोइन्टमेन्ट लिनुपर्नेछ ।
यसका साथै, जनवरी २४ र २५ तारिख (शनिवार र आइतवार) का दिन लिस्बनस्थित नेपाली राजदूतावासको कार्यालय पूर्ण रूपमा बन्द रहनेछ ।
दूतावासको टोली पोर्तोको शिविरमा खटिने र सार्वजनिक बिदाको दिन समेत परेकाले उक्त दिनहरूमा कार्यालयबाट कुनै पनि सेवा प्रवाह हुनेछैन । धेरै सेवाग्राहीहरू अपोइन्टमेन्टको मिति हेरेर झुक्किएर लिस्बनस्थित दूतावासमा आउन सक्ने सम्भावना रहेकाले, दूतावासले सूचनामार्फत नै सो दिन कार्यालयमा नआउन सबैमा विशेष अनुरोध गरेको छ ।





