जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसियालाई आफ्नो कर्मथलो बनाइरहेका नेपालीहरू संगठित हुन थालेका छन् ।
क्रोएसियामा छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने पवित्र उद्देश्यका साथ हालै ‘नेपाली स्वतन्त्र समाज क्रोएसिया’ को औपचारिक गठन गरिएको छ ।
समाजकी नवनियुक्त कोषाध्यक्ष लक्ष्मी के.सी.का अनुसार, यो संस्थाको स्थापना मुख्यतः प्रवासमा रहेका नेपालीहरूलाई आइपर्ने विविध समस्याहरूको समाधानका लागि पहल गर्न गरिएको हो । विशेषगरी कार्यक्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटनामा परी घाइते भएका नेपालीहरूका लागि आर्थिक संकलन गर्ने र उनीहरूको उपचारमा सहयोग पुर्याउने लक्ष्य संस्थाले राखेको छ । यसका साथै, कानुनी वा अन्य व्यावहारिक कठिनाइमा परेका नेपाली कामदारहरूलाई आवश्यक राहत र परामर्श प्रदान गर्नु समाजको प्राथमिकता रहने जानकारी के.सी. ले दिनुभएको छ ।

यही सन्दर्भमा, सन् २०२६ जनवरी १८ तारिखमा बसेको समाजको दोस्रो बैठकले कृष्णबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल खत्री, सचिवमा नविना न्यौपाने, सह-सचिवमा अनिल खाती र कोषाध्यक्षमा लक्ष्मी के.सी. चयन हुनुभएको छ ।
संस्थालाई थप व्यवस्थित र समावेशी बनाउनका लागि सात सदस्यीय केन्द्रीय सदस्यहरूको पनि चयन गरिएको छ । जसमा सन्दिप सापकोटा, आकाश तामाङ, बिपिन बस्याल, सीता सापकोटा, तुलसा चौलागाईं, रेवन बि.क. र कल्पना खत्री रहनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई विभिन्न क्षेत्रका नेपाली समुदायले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै जाँदा यस्ता सामाजिक संस्थाहरूको अभाव खड्किरहेको समयमा ‘नेपाली स्वतन्त्र समाज’ को गठनले त्यहाँ कार्यरत नेपालीहरूमा सुरक्षा र भरोसाको नयाँ आशा जगाएको छ । आगामी दिनमा यस समाजले सामाजिक सेवा र नेपाली संस्कृति प्रवर्द्धनका क्षेत्रमा समेत सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ ।





