लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै देशको उत्तरी सहर पोर्टोमा दुई दिने विशेष घुम्ती शिविर (कन्सुलर क्याम्प) सफलतापूर्वक सम्पन्न गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेका र व्यस्तताका कारण दूतावाससम्म धाउन असमर्थ नेपालीहरूको बाध्यतालाई मध्यनजर गर्दै, दूतावासले यही जनवरी २४ र २५ तारिखमा यो शिविर सञ्चालन गरेको हो ।
यस अभियानको मुख्य उद्देश्य सेवाग्राहीहरूलाई उनीहरूकै कार्यक्षेत्र नजिक पुगेर राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण जस्ता अत्यावश्यक सेवाहरू सहज रूपमा प्रदान गर्नु थियो ।
दूतावासको टोलीले पोर्टोको भिला नोभा दि गाईयास्थित ‘नमस्ते पोर्टो’ रेस्टुरेन्टमा क्याम्प खडा गरी सेवा प्रवाह गरेको थियो । पोर्चुगलका लागि नेपाली काउन्सिलर शत्रुध्वन पोखरेलको नेतृत्वमा खटिएको उक्त टोलीमा तेस्रो सचिव अनिल राणा लगायतका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । टोलीले बिदाको दिनको परवाह नगरी दुई दिनसम्म लगातार खटिएर उत्तरी पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूलाई राहदानी तथा कन्सुलर सम्बन्धी सेवाहरू प्रदान गर्यो । सेवा लिन आएका नेपालीहरूले आफ्नै सहरमा दूतावासको टोलीलाई पाउँदा खुसी व्यक्त गरेका थिए ।

शिविरको उपलब्धिका विषयमा जानकारी दिँदै दूतावासका प्रथम सचिव रामबाबु नेपालले यसपटक कुल ८५ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएको बताउनुभयो । उहाँका अनुसार शिविर अवधिभर ५० जनाले राहदानी नवीकरणका लागि आवेदन दिएका छन् भने १५ जनालाई पहिले नै तयार भइसकेका राहदानीहरू सोही स्थानमा वितरण गरिएको थियो । यसका साथै, २० जना सेवाग्राहीहरूको प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लगायत अन्य विभिन्न महत्त्वपूर्ण कागजातहरूको प्रमाणीकरण पनि शिविरबाटै सम्पन्न गरियो ।
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना भएयता नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गरेको यो तेस्रो पटक हो । लिस्बन बाहिर रहेका नेपालीहरूको बाक्लो उपस्थिति भएका क्षेत्रहरूलाई लक्षित गर्दै दूतावासले यसअघि पनि पोर्चुगलको फारो सहर र मदेइरा टापुको फुन्चालमा यस्तै प्रकारका घुम्ती शिविरहरू सञ्चालन गरिसकेको छ । दूतावासको यस्तो सक्रियताले प्रवासमा रहेका नेपालीहरूलाई समय र खर्चको बचत हुनुका साथै ठूलो राहत मिलेको देखिन्छ ।







