Home Login
प्रवास

इजरायलमा सोनाम ल्होछार साँगितिक साँझ–२०२६ हुने

इजरायल —  नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा आगामी १३ फेब्रुअरी शुक्रबारका दिन हगना – १३५, तेलअभिवमा सोनाम ल्होछार साँगितिक साँझ–२०२६ हुने भएको छ ।

“तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपी, संस्कार र संस्कृतिको प्रवद्र्धन तथा संरक्षण गरौ, ताम्सालिङ प्राप्तिको लागि एक जुट हाऔं” भन्ने मुल नारा सहित नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङ समुदायको मुख्य चाड मञ्जुश्री संवत २८६२ (ता ल्हो) घोडा वर्ग सोनाम ल्होछारको अबसरमा उक्त कार्यक्रम गर्न लागेको हो । सोनाम ल्होछार साँगितिक साँझ कार्यक्रममा बहुचर्चित तथा लोकप्रिय युवा गायक छेवाङ लामा र व्याण्डको लाइभ सांगितिक प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

सोनाम ल्होछार साँगितिक साँझ कार्यक्रममा शुभकामना आदान – प्रदानका साथै तामाङ समुदायको प्रचलित र महत्वपूर्ण नाच  तामाङ सेलो सहित विविध सांस्कृतिक प्रस्तुतीहरु रहने नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष कुमारी गल्देन तामाङले जानकारी दिनुभयो ।

नेपाली दुतावास इजरायलका प्रमुखको प्रमुख अतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्षको विशिष्ट आतिथ्यतामा हुने कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न धार्मिक, सामाजिक, राजनीतिक तथा राष्ट्रिय समुदाय संघ–संस्थाहरुलाइ निमन्त्रणा गरिएको छ । साथै ल्होछार कार्यक्रममा इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषीहरुलाइ सहभागिताको लागि अनुरोध गरेका छन् । नेपाल तामाङ घेदुङ इजरायलले अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि भव्यताका साथ सोनाम ल्होछार साँगितिक साँझ–२०२६ मनाउने तायारी गरिरहेका छन् ।

“ताम्सालिङ घ्लेठीम बाबरि जबमुलिङ्ला मोक्कोन तामाङ घिक ताअी” भन्ने मुल नाराका साथ सन् २०१० मा नेपाल तामाङ घेदुङ इजरायलको स्थापना भएको थियो । इजरायलमा क्रियाशिल विभिन्न ८ वटा राष्ट्रिय समुदाय संस्थाहरुमा तामाङ घेदुङ इजरायल एक सक्रिय संस्थाको रुपमा स्थापित रहेका छन् ।

Leave a Reply