लिस्बन (पोर्चुगल) — “तामाङ जातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (सर्प वर्ष) आइतबार लिस्बनमा भव्य रूपमा मनाइएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पोर्चुगलभर छरिएर रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष फुर्पा तामाङको सभापतित्वमा सम्पन्न उक्त औपचारिक समारोहमा तामाङ सांस्कृतिक जगतका प्रख्यात व्यक्तित्व एवं वरिष्ठ गायक चन्द्र कुमार डोङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष तथा घेदुङ पोर्चुगलका संस्थापक संरक्षक सुजन लामा विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो ।
त्यसैगरी, राई सोसाइटीका अध्यक्ष दिपेस राई, श्रम संस्कृति पार्टीका अध्यक्ष विकास आले, धर्म गुरु फुरि शेर्पा, डा. सोनिया तामाङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले प्रवासमा रहेर पनि आफ्नो चाडपर्व र संस्कृति जोगाउन घेदुङले खेलेको भूमिकाको प्रशंसा गर्दै आपसी सद्भाव र एकतामा जोड दिएका थिए ।

औपचारिक सत्र पश्चात् लिस्बनको अलवलादे मेट्रो स्टेसन नजिकै रहेको ‘रिपब्लीका डा म्युजिक कन्सर्ट हल’ मा विशाल सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो सांगीतिक साँझमा नेपालबाट आएका चर्चित कलाकारहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । वरिष्ठ गायक चन्द्र कुमार दोङका चर्चित सेलो गीतहरूले हल गुञ्जायमान बनेको थियो भने ‘राई इज किङ’ का रूपमा परिचित प्रसिद्ध गायक राजेश पायल राईको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए ।
कार्यक्रममा युवा सेलो गायक नग्वाङ लामा, गायक तथा सङ्गीतकार शेखर लामा र सुदिप योन्जनले आ-आफ्ना हिट गीतहरू प्रस्तुत गर्दै माहोललाई थप उर्जावान बनाएका थिए । राष्ट्रिय कलाकारहरूसँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो । तामाङ भेषभूषामा सजिएका सहभागीहरू र सेलोको तालले लिस्बनको कन्सर्ट हलमा नेपालीपनको आभास गराएको थियो ।

रोजगारी र अध्ययनका सिलसिलामा पोर्चुगलमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले विदेशमा नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन मात्र नगरी समुदायबीचको भाइचारालाई समेत मजबुत बनाएको आयोजकले विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई संस्थाका सल्लाहकार पदम लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव छयाड्बा लामाले गर्नुभएको थियो ।










