नर्वे — नर्वेको राजधानी ओस्लोमा ढाका टोपी दिवस–२०२६ भव्य रूपमा सम्पन्न भएको छ । माङ्ग्फ़ोल्ड नेपाल–नोर्गे, नेपाली पोर्चुगिज समाज नर्वे तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल युरोप शाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम जनवरी १, २०२६ का दिन ओस्लोस्थित नेपाली रेस्टुरेन्ट रोयल तन्दुरी, नर्वेमा आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान—नेपाल युरोप शाखाको तर्फबाट विशेष सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई नेपाली कला, संस्कृति र मौलिकताको अनुभूति गराएको थियो ।
उक्त अवसरमा ओस्लोस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबै नेपालीहरूले नेपाली मौलिक पहिरनका साथ ढाका टोपी लगाएर सहभागिता जनाएका थिए, जसले ढाका टोपीको सांस्कृतिक महत्व र नेपाली पहिचानलाई उजागर गरेको थियो ।
आयोजक संस्थाहरूले ढाका टोपी दिवसले नेपाली संस्कृति, परम्परा र पहिचानलाई प्रवासमा पनि जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।





