Home Login
राजनीति

राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको ‘विदाई’ म्याड्रिड भ्रमण

पोर्चुगल — पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले आफ्नो कार्यकालको अन्तिम औपचारिक विदेश भ्रमणको रूपमा छिमेकी राष्ट्र स्पेनको राजधानी म्याड्रिडको यात्रा गर्ने तय भएको छ ।

पटक–पटकको स्थगनपछि अन्ततः यो ‘विदाई भ्रमण’ फेब्रुअरी १९ र २० गते (बिहीबार र शुक्रबार) हुने निश्चित भएको हो ।

आगामी मार्च ९ मा पदमुक्त हुन लागेका राष्ट्रपति मार्सेलोले आफ्नो कार्यकालको सुरुवात र अन्त्यमा स्पेनको भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै यो भ्रमण गर्न लागेका हुन् । यसअघि राष्ट्रपतिको आकस्मिक हर्निया शल्यक्रियाका कारण स्वास्थ्य लाभ गर्नुपर्ने भएकोले र पछि दुवै देशमा आएको विनाशकारी आँधीबेहरीको कारण देखाउँदै यो भ्रमण दुई पटक स्थगित गरिएको थियो ।

स्पेनी राजा फेलिप छैठौंको औपचारिक निमन्त्रणामा म्याड्रिड जान लागेका मार्सेलो बिहीबार दिउँसो त्यहाँ पुग्ने अपेक्षा गरिएको छ । भ्रमणको मुख्य औपचारिक कार्यक्रम शुक्रबार हुनेछ, जहाँ उनलाई म्याड्रिडको शाही दरबारमा स्थानीय समय अनुसार १२:३० बजे भव्य सैन्य सम्मानका साथ स्वागत गरिनेछ ।

त्यसलगत्तै दुई राष्ट्रप्रमुखबीच द्विपक्षीय भेटवार्ता हुनेछ । सोही दिन राजा फेलिप छैठौं र रानी लेटिजियाले पोर्चुगिज राष्ट्रपतिको सम्मानमा शाही दरबारमा दिवाभोजको आयोजना गर्नेछन् । उक्त भोजमा दुवै देशका राष्ट्रप्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, यो भ्रमणले पोर्चुगल र स्पेनबीचको मित्रता र भ्रातृत्वको सम्बन्धलाई पुन: पुष्टि गर्दै अझ प्रगाढ बनाउने अवसर प्रदान गर्नेछ । विशेषगरी, हालैका साताहरूमा पोर्चुगलमा आएको आँधीबेहरीको विपद्का समयमा स्पेनले पुर्‍याएको सहयोगप्रति राष्ट्रपति मार्सेलोले यस भ्रमणका क्रममा विशेष धन्यवाद ज्ञापन गर्नेछन् ।

आफ्नो दुई कार्यकालको सुरुमा पनि भ्याटिकन र स्पेनलाई नै विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका राष्ट्रपति मार्सेलो, शुक्रबार दिउँसो लिस्बन फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply