Home Login
प्रवास

इनास पोर्चुगलको कलाकार भेटघाट तथा प्रमाणपत्र वितरण कार्यक्रम मार्च १ मा

पोर्चुगल (लिस्बन) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पोर्चुगल शाखाले कलाकार भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

पोर्चुगलमा रहेका नेपाली कलाकारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आगामी मार्च १ तारिख (आइतबार) का दिन लिस्बनस्थित ‘ल्याब लिस्बन रेस्टुरेन्ट’ मा यो विशेष कार्यक्रम गरिने भएको हो ।

प्रवासमा रहेर पनि नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणमा जुटिरहेका कलाकारहरूबीच आपसी चिनजान र भाइचारा अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य ध्येय रहेको छ । सोही अवसर पारेर इनास पोर्चुगल शाखाको कार्यसमितिमा रहेका सदस्य तथा पदाधिकारीहरूलाई औपचारिक रूपमा ओहोदाको प्रमाणपत्र समेत वितरण गरिने कार्यक्रम तय भएको छ ।

सन् २०१२ मा पोल्याण्डबाट सुरु भएको इनासको यात्रा अहिले विश्वव्यापी बनिसकेको छ । नेदरल्याण्ड्समा केन्द्रीय कार्यालय रहेको यस संस्थाले विश्वका ७३ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । पोर्चुगल शाखाले पनि स्थानीय स्तरमा नेपाली मौलिक कला र परम्परालाई जोगाउँदै प्रतिभाहरूलाई प्रोत्साहन गर्ने कार्यमा सक्रियता देखाउँदै आएको छ ।

संस्थाको विश्वव्यापी गतिविधिलाई थप उचाइमा पुर्‍याउन इनासका विभिन्न शाखाहरू सक्रिय छन् । हालै मात्र नेपाल शाखाको अध्यक्षमा वरिष्ठ चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ भने नेपाल शाखाका निवर्तमान अध्यक्ष दयाराम पाण्डेले एसिया क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

यसरी देश तथा विदेशमा रहेका शाखाहरू मार्फत इनासले नेपाली कलाकारहरूको हकहित र पहिचानका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।

मार्च १ मा हुने यस भेटघाट कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउने र आगामी दिनमा सहकार्यका लागि नयाँ बाटो खोल्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्न पोर्चुगलवासी नेपाली समुदाय तथा कलाप्रेमीहरूलाई शाखाले अनुरोध समेत गरेको छ ।

Leave a Reply