Home Login
प्रवास

पोर्चुगलको सडक सुरक्षामा चुनौती ; युरोपेली संघमा मृत्युदर उच्च

लिस्बन — युरोपेली संघ (ईयु) भित्र सडक सुरक्षाका मापदण्डहरू कडा बनाइँदै लगिए पनि पोर्चुगलको अवस्था भने सन्तोषजनक देखिएको छैन । पछिल्ला वर्षहरूमा सार्वजनिक गरिएका तथ्यांकहरूले पोर्चुगललाई युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सडक दुर्घटनाबाट मृत्यु हुने दर उच्च रहेका देशहरूको सूचीमा राखेको छ । हालैका प्रतिवेदनहरू अनुसार, सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्याका आधारमा पोर्चुगल युरोपेली संघमा छैठौं सबैभन्दा खराब वा जोखिमपूर्ण स्थानमा रहेको छ ।

युरोपेली यातायात सुरक्षा परिषद् (ETSC) र पोर्चुगलको राष्ट्रिय सडक सुरक्षा प्राधिकरण (ANSR) का तथ्यांकहरूले देखाए अनुसार, पोर्चुगलमा प्रति १० लाख जनसंख्यामा हुने सडक मृत्युदर युरोपेली औसतभन्दा निकै माथि छ । युरोपेली संघको औसत सडक मृत्युदर प्रति १० लाख मानिसमा करिब ४६ जना रहेकोमा, पोर्चुगलमा यो संख्या ६० को हाराहारीमा देखिएको छ । यस तथ्यांकले पोर्चुगललाई रोमानिया, बुल्गेरिया र लात्भिया जस्ता सडक सुरक्षामा कमजोर मानिने देशहरूकै लहरमा उभ्याएको छ भने स्विडेन र डेनमार्क जस्ता सुरक्षित सडक भएका देशहरूको तुलनामा पोर्चुगल निकै पछाडि परेको स्पष्ट हुन्छ ।

विगत एक दशकको तथ्यांक विश्लेषण गर्दा चिन्ताजनक अर्को पाटो पनि उजागर भएको छ । युरोपका अन्य देशहरूले सडक दुर्घटना न्यूनीकरणमा उल्लेख्य प्रगति गरिरहँदा पोर्चुगलमा भने यो सुधारको गति लगभग स्थिर जस्तै देखिएको छ । सन् २०१४ देखि २०२४ सम्मको अवधिलाई हेर्दा, युरोपेली संघमा औषतमा सडक मृत्युदर २२ प्रतिशतले घट्दा पोर्चुगलमा भने यसमा नगण्य मात्रामा मात्र कमी आएको छ । सरकारी अधिकारीहरूले ‘भिजन जेरो २०३०’ (सन् २०३० सम्ममा सडक मृत्यु र गम्भीर घाइतेको संख्या आधा घटाउने लक्ष्य) को नारा अघि सारे पनि, जमिनि यथार्थमा भने दुर्घटनाको जोखिम घटेको छैन ।

सडक दुर्घटनाका प्रमुख कारणहरूमा तीव्र गति (ओभरस्पिड), मादक पदार्थ सेवन गरेर सवारी चलाउनु र सवारी नियमहरूको पालनामा देखिएको हेलचेक्र्याइँलाई औंल्याइएको छ । विशेष गरी ग्रामीण भेगका सडकहरू र सहरी क्षेत्रका व्यस्त मार्गहरूमा मोटरसाइकल र साना सवारी साधनहरूको दुर्घटना दर उच्च रहेको पाइन्छ । यद्यपि सरकारले राडर क्यामेराहरूको संख्या बढाउने र जरिवानाको दायरा फराकिलो बनाउने जस्ता कदमहरू चालेको छ, तर चालकहरूको व्यवहारमा अपेक्षित परिवर्तन आउन सकेको छैन ।

युरोपेली आयोगले सन् २०५० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युलाई शून्यमा झार्ने महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा पोर्चुगलको वर्तमान तथ्यांकले गम्भीर प्रश्न खडा गरेको छ । सडक पूर्वाधारमा सुधार, जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारिता र ट्राफिक नियमको कडा कार्यान्वयन नभएसम्म पोर्चुगलले युरोपेली संघको ‘सुरक्षित सडक’ को मापदण्ड भेट्टाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ । यो तथ्यांकले नीति निर्माताहरूलाई मात्र नभई आम सर्वसाधारणलाई पनि सडक प्रयोग गर्दा थप सतर्कता अपनाउन घच्घच्याएको छ ।

Leave a Reply