Home Login
साईप्रस

साइप्रसको सडक सुरक्षा अवस्था ; ईयूमा १४औं स्थान

निकोशिया —  साइप्रस सडक सुरक्षाको मामिलामा युरोपेली संघ (ईयू) का देशहरूमध्ये १४औं स्थानमा परेको छ । हालै सार्वजनिक गरिएको युरोपेली आयोगको प्रतिवेदन अनुसार, सन् २०२४ मा साइप्रसमा प्रति १० लाख बासिन्दामा ४४ जनाको सडक दुर्घटनामा मृत्यु भएको तथ्याङ्क छ ।

प्रतिवेदनले साइप्रसको सडक सुरक्षामा केही गम्भीर चुनौतीहरू औंल्याएको छ । विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवाहरू र दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) चालकहरू दुर्घटनाको उच्च जोखिममा रहेको पाइएको छ । तथ्याङ्क अनुसार, सडक दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते हुनेहरूमा यो समूहको अनुपात अन्य युरोपेली देशहरूको तुलनामा बढी छ । अधिकांश गम्भीर दुर्घटनाहरू ग्रामीण भेगमा नभई सहरी क्षेत्रभित्रै हुने गरेको पनि अध्ययनले देखाएको छ ।

साइप्रस सरकारले सन् २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्यालाई २०२० को तुलनामा ५० प्रतिशतले (आधा) घटाउने लक्ष्य राखेको छ । खुसीको कुरा के छ भने, साइप्रस यो लक्ष्य प्राप्तिको दिशामा सही मार्गमा अघि बढिरहेको देखिन्छ । सन् २०१९ देखि २०२४ को बीचमा सडक मृत्युको संख्यामा २१ प्रतिशतले कमी आएको छ । त्यस्तै, २०२२ मा गम्भीर घाइते हुनेको संख्यामा पनि २०१९ को तुलनामा २६ प्रतिशतले गिरावट आएको छ ।

यद्यपि, दुर्घटनाका कारणहरू भने अझै चिन्ताजनक छन् । प्रतिवेदनका अनुसार तीव्र गति (ओभर स्पीड), मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउनु र ट्राफिक नियमको अवज्ञा गर्नु दुर्घटनाका प्रमुख कारण हुन् । मृत्यु हुने यात्रुवाहक कार चालकहरूमध्ये ५६ प्रतिशतले सिट बेल्ट नलगाएको र ४४ प्रतिशत मोटरसाइकल चालकले हेलमेट प्रयोग नगरेको पाइएको छ । यसका साथै, सवारी चलाउँदा मोबाइल फोनको प्रयोगले पनि दुर्घटनाको जोखिम बढाएको छ । साइप्रसमा बसोबास गर्ने विदेशी नागरिकहरूको सडक मृत्युदर पनि उनीहरूको जनसंख्याको अनुपातमा उच्च देखिएको छ ।

सडक सुरक्षाका लागि बनाइएको रणनीतिक योजनाअन्तर्गत धेरै कामहरू भइरहेका छन् । करिब १५८ वटा सुरक्षा उपायहरूमध्ये धेरैजसो ट्रयाकमा छन् । तर, सीमित बजेट, प्राविधिक कर्मचारीको अभाव र संगठनात्मक समस्याका कारण केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनमा ढिलाइ भइरहेको आयोगले जनाएको छ ।

युरोपेली आयोगले सडक सुरक्षा सुधारलाई निरन्तरता दिनका लागि प्रशासनिक अवरोधहरू हटाउन सुझाव दिएको छ । अबको समयमा सहरी पूर्वाधार सुधार, जोखिममा रहेका सडक प्रयोगकर्ताहरूको सुरक्षा र सुरक्षित गतिको मापदण्डलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिइएको छ । सानो देश भएकाले तथ्याङ्कमा वार्षिक उतारचढाव सामान्य भए पनि, समग्रमा साइप्रसले सडक सुरक्षामा सकारात्मक सुधार गरिरहेको निष्कर्ष प्रतिवेदनको छ ।

Leave a Reply