Home Login
पोर्चुगल

नेपाल–पोर्चुगल सम्बन्धमा नयाँ अध्याय ; परराष्ट्र सचिव अमृतबहादुर राई पोर्चुगल आउँदै

पोर्चुगल — नेपाल र पोर्चुगलबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित परराष्ट्र सचिव अमृतबहादुर राई भोलि मंगलबार पोर्चुगल प्रस्थान गर्दैछन् । दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र फराकिलो बनाउन गठन गरिएको ‘नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र’ को पहिलो बैठकमा सहभागी हुन सचिव राईको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल लिस्बन जान लागेको हो । सन् २०१८ मा यो संयन्त्र निर्माण भए पनि यसको पहिलो औपचारिक बैठक अहिले बस्न लागेको हुनाले यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

लिस्बनमा आयोजना हुने यस ऐतिहासिक बैठकमा सचिव राईले सह-अध्यक्षता गर्नेछन् । बैठकमा नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धको समीक्षा गर्नुका साथै व्यापार, पर्यटन प्रवर्द्धन र विभिन्न बहुपक्षीय मञ्चहरूमा एकअर्कालाई सहयोग गर्ने विषयमा गहन छलफल हुनेछ ।

नेपाली टोलीमा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू र पोर्चुगलका लागि नेपाली राजदूतसमेत सहभागी हुनेछन् । यो बैठकले दुई देशबीचको सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्न र लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भ्रमणको अर्को मुख्य आकर्षण भनेको पोर्चुगलमा हालै स्थापना भएको नेपाली दूतावासको औपचारिक उद्घाटन हो । सचिव राईले आफ्नो भ्रमणका क्रममा उक्त दूतावासको विधिवत् उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय पोर्चुगल नेपालीहरूका लागि एक सुरक्षित र आकर्षक श्रम गन्तव्यका रूपमा विकास भइरहेको छ । हाल त्यहाँ ५० हजारभन्दा बढी नेपाली विभिन्न पेशा र व्यवसायमा संलग्न रहेको सरकारी तथ्याङ्क छ । बढ्दो नेपाली जनघनत्वलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ दूतावास खोल्ने निर्णय गरेको थियो । दूतावास पूर्ण रूपमा सञ्चालनमा आएपछि त्यहाँ रहेका नेपालीहरूले भिसा, राहदानी नवीकरण र श्रम सम्बन्धी कानुनी समस्याहरूको समाधानमा ठूलो राहत महसुस गर्नेछन् ।

यो उच्चस्तरीय भ्रमणले भविष्यमा दुई देशबीच श्रम सम्झौताको आधार तयार गर्न कोसेढुंगा सावित हुने विश्वास लिइएको छ । बैठक र दूतावास उद्घाटनका अलावा सचिव राईले पोर्चुगलका उच्च परराष्ट्र अधिकारीहरूसँग द्विपक्षीय हितका विषयमा भेटघाट गर्नेछन् भने त्यहाँस्थित नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन् । कूटनीतिक सम्बन्ध विस्तार र समुदायको हितमा केन्द्रित यो भ्रमण सकेर सचिव राई फागुन १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply