पोर्चुगल — पोर्चुगलको लिस्बनमा आयोजना हुन लागेको चर्चित गायक सुजन चापागाईँ र ‘द इन्फिनिटी’ ब्याण्डको सांगीतिक कन्सर्टको पूर्वसन्ध्यामा आयोजित नृत्य प्रतियोगिताका विजेताहरूको नाम आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । कार्यक्रमका आयोजकहरूले प्रतियोगीहरूको उत्कृष्ट प्रतिभा र समर्पणको कदर गर्दै उनीहरूलाई विभिन्न पुरस्कार सहित विजेता घोषित गरेका हुन् ।
यस घोषणा अनुसार सिम्रन मगरले प्रतियोगिताको मुख्य विजेताको उपाधि हात पार्न सफल भएकी छिन् । उनले पुरस्कार स्वरूप कार्यक्रमको भिभिआइपी टिकट प्राप्त गर्नुका साथै गायक सुजन चापागाईँसँग विशेष भेटघाट गर्ने अवसर पाउनेछिन् ।
प्रतियोगितामा मिसपा गुरुङ ‘रनर-अप’ घोषित भएकी छिन् भने रोजिना थापाले ‘फर्स्ट रनर-अप’ को स्थान सुरक्षित गरेकी छिन् । रनर-अप मिसपाले भिआइपी टिकट र फर्स्ट रनर-अप रोजिनाले फ्रन्ट टिकट प्राप्त गरेका छन् । यी दुवै विजेताहरूले पनि सुजन चापागाईँसँग प्रत्यक्ष भेटघाट गर्ने विशेष मौका पाउने आयोजकले जनाएका छन् । आयोजक टोलीले सबै विजेताहरूलाई उनीहरूको कडा परिश्रम र कलाका लागि बधाई दिँदै कन्सर्टको दिन उनीहरूसँगै खुसी साटासाट गर्न आतुर रहेको सन्देश प्रवाह गरेको छ ।
यो बृहत् सांगीतिक कार्यक्रमलाई सफल पार्न विभिन्न प्रतिष्ठित संस्थाहरूले सहकार्य गरेका छन् । कार्यक्रमको मुख्य आयोजनामा ‘नेप्स इन्टरटेनमेन्ट’, ‘केन्द्र मोसन पिक्चर्स’, ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट’ रहेका छन् । कार्यक्रमको नामकरण प्रायोजक को रूपमा ‘हिमालयन जाभा’ रहेको छ भने अर्को सहयोगी संस्थाका रूपमा ‘काष्ठमण्डप सुपरमार्केट’ को लोगो अंकित छ । कार्यक्रमको कलात्मक पक्षलाई ‘आर्टमान्डु’ ले संयोजन गरेको छ भने मिडिया पार्टनरको भूमिकामा ‘यूरोपाटी’ रहेको छ।
यो सांगीतिक धमाका मार्च २ तारिख सोमबारका दिन लिस्बनस्थित प्रसिद्ध हल ‘लिस्बोआ आओ भिभो’ मा आयोजना हुने निश्चित भएको छ । कन्सर्टको लागि ढोका राति १० बजेदेखि खुल्ला गरिनेछ ।






