लिस्बन (पोर्चुगल) — नेपाली सुगम संगीतका लोकप्रिय गायक सुजन चापागाईं आफ्नो सांगीतिक टोली ‘द इन्फिनिटी’ ब्याण्डसहित पोर्चुगलको राजधानी लिस्बन आइपुग्नुभएको छ ।
“युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६” अन्तर्गत डेनमार्कको सफल प्रस्तुतिपछि शनिबार लिस्बन ओर्लिएका चापागाईंलाई विमानस्थलमा आयोजक टोलीका किरण गुरुङ, समिर गुरुङ र केन्द्र गुरुङ, अशोक गुरुङ, शिव क्षेत्री, रोशन लामा र क्यामेराको लागि सुरेश जीसी लगायतले भव्य स्वागत गर्नुभयो ।
लिस्बनस्थित प्रसिद्ध सांगीतिक स्थल ‘लिस्बोआ आओ भिभो’ मा मार्च २ तारिख, सोमबारका दिन आयोजना हुने यस कन्सर्टले पोर्चुगलमा रहेका नेपाली समुदायमा ठुलो उत्साह जगाएको छ ।
केएनएस ईन्टरटेन्मेन्ट, केन्द्र मोशन पिक्चर्स र नेल्स इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमलाई भव्य बनाउन आयोजकले कुनै कसर बाँकी राखेका छैनन् । सार्वजनिक गरिएको तालिका अनुसार मार्च २ को रात १० बजे हलको ढोका खुलेसँगै कार्यक्रमको औपचारिक सुरुवात हुनेछ । सुरुवाती चरणमा दर्शकहरूलाई संगीतको माहोलमा भिजाउन १०:१५ देखि मध्यरात १२ बजेसम्म ‘डिजे सेट’ मार्फत वार्म-अप सेसन चल्नेछ । त्यसलगत्तै नृत्य प्रतियोगिताका विजेताहरूको घोषणा, आयोजकको स्वागत मन्तव्य र कार्यक्रमका प्रायोजकहरूलाई सम्मान गर्ने संक्षिप्त औपचारिक सत्र राखिएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेका गायक सुजन चापागाईं र ‘द इन्फिनिटी’ ब्याण्डले मध्यरात १२:३० बजे मञ्च सम्हाल्नेछन् । झण्डै साढे दुई घण्टा चल्ने प्रत्यक्ष प्रस्तुतिमा चापागाईंले आफ्ना चर्चित गीतहरू ‘तिनपाते’, ‘बाफ’, ‘गालापुक्क’ लगायतका लोकप्रिय सिर्जनाहरू प्रस्तुत गरी दर्शकलाई झुमाउनेछन् । गायक र ब्याण्डको प्रस्तुति बिहान ३ बजेसम्म चल्नेछ भने त्यसपछि बिहान ४ बजेसम्म चल्ने विशेष ‘आफ्टर पार्टी’ र डिजे सेसनसँगै कार्यक्रमको समापन गरिने आयोजकले जनाएका छन् ।
सहभागितालाई व्यवस्थित र सबैको पहुँचमा पुर्याउन आयोजकले चार वटा भिन्न श्रेणीमा टिकट दर निर्धारण गरेका छन् । जस-अनुसार अति विशिष्टका लागि १ सय ५० युरो, विशिष्टका लागि ७५ युरो, फ्रन्ट जोनका लागि ४० युरो र ब्याक जोनका लागि ३० युरो शुल्क तय गरिएको छ । युरोप भ्रमणको अन्तिम चरणमा रहेका चापागाईंले पोर्चुगलपछि आगामी मार्च ७ तारिखमा माल्टामा आफ्नो अन्तिम प्रस्तुति दिने तालिका रहेको छ । सात समुद्र पार रहेर पनि आफ्नो माटो र मौलिक संगीतलाई माया गर्ने नेपालीहरूका लागि यो कन्सर्ट एउटा ऐतिहासिक सांगीतिक उत्सव बन्ने विश्वास लिइएको छ ।





