पोर्चुगल — पोर्चुगलको राजनीतिक सत्ता हस्तान्तरणको प्रक्रिया अघि बढ्दै गर्दा नवनिर्वाचित राष्ट्रपति एन्टोनियो जोसे सेगुरो र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोबीच सिन्ट्रास्थित ऐतिहासिक क्वेलुज राष्ट्रिय दरबारमा एक महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । निर्वाचन र आगामी मार्च ९ मा हुने शपथ ग्रहणबीचको संक्रमणकालीन समयमा नवनिर्वाचित राष्ट्रपतिले आफ्नो कार्यलयका रूपमा प्रयोग गर्दै आउनुभएको यसै दरबारमा प्रधानमन्त्री मोन्टेनेग्रोले सेगुरोसँग औपचारिक शिष्टाचार भेट गर्नुभएको हो ।
दिउँसो ४ बजे दरबार पुग्नुभएका प्रधानमन्त्री र निर्वाचित राष्ट्रपतिबीच करिब दुई घण्टा ४० मिनेट लामो छलफल भएको थियो। यस बैठकको मुख्य उद्देश्य औपचारिक बधाई ज्ञापनका साथै ‘पोर्चुगल रूपान्तरण, पुनरुत्थान र लचिलोपन’ (PTRR) कार्यक्रमको प्रारम्भिक रूपरेखा प्रस्तुत गर्नु थियो । विशेषगरी पछिल्लो समय आएको विनाशकारी आँधीबेहरीबाट भएको भौतिक क्षतिको पुनर्स्थापना र भविष्यमा आउन सक्ने प्राकृतिक प्रकोप न्यूनीकरणका लागि ल्याइएको यो रणनीतिक योजनालाई सरकारले विशेष महत्व दिएको छ । प्रधानमन्त्री मोन्टेनेग्रोले यसअघि नै यो कार्यक्रमलाई सफल बनाउन राजनीतिक दल, स्थानीय निकाय, शिक्षाविद् र वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा लगायत सबै सरोकारवाला पक्षहरूसँग व्यापक परामर्श गर्ने इच्छा व्यक्त गरिसक्नुभएको थियो ।
बैठकको अन्त्यमा एक विशिष्ट कूटनीतिक शिष्टाचार देखियो, जहाँ नवनिर्वाचित राष्ट्रपति सेगुरोले प्रधानमन्त्रीलाई दरबारको ढोकासम्म पुगेर बिदाइ गर्नुभयो । यद्यपि, आगामी मार्च ९ मा आधिकारिक रूपमा राज्य प्रमुखको कार्यभार नसम्हालेसम्म उहाँले आफ्नो कार्यस्थलबाट बाहिर निस्किएर सार्वजनिक रूपमा सञ्चारमाध्यमलाई कुनै प्रतिक्रिया दिनुभएन । प्रधानमन्त्री मोन्टेनेग्रो पनि साँझ ६:४० बजे पत्रकारहरूसँग कुनै संवाद नगरी दरबारबाट बाहिरिनुभएको थियो ।
यसअघि गत सोमबार, फेब्रुअरी २३ मा प्रधानमन्त्रीले वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डे सुसालाई पनि यो PTRR कार्यक्रमको बारेमा जानकारी गराइसक्नुभएको थियो । नयाँ नेतृत्वको आगमनसँगै पोर्चुगलको पुनर्निर्माण र विकासका योजनाहरूमा सत्ताको दुवै पक्षबीच समन्वय गर्ने प्रयासका रूपमा यस भेटलाई लिइएको छ ।






