Home Login
पोर्चुगल

पोर्चुगलमा आकाश खनिएपछि ; ४७ वर्षयताकै उच्च वर्षाले रच्यो नयाँ कीर्तिमान

लिस्बन — पोर्चुगलमा यस वर्षको फेब्रुअरी महिनाले वर्षाका सम्पूर्ण पुराना कीर्तिमानहरूलाई पछाडि छोडिदिएको छ । पोर्चुगलको राष्ट्रिय मौसम विज्ञान संस्थान (IPMA) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, फेब्रुअरीका सुरुवाती १५ दिनमै भएको अत्यधिक वर्षाले यस महिनालाई विगत ४७ वर्षयताकै सबैभन्दा ओसिलो महिनाको रूपमा दर्ता गराएको छ । पछिल्ला चार वर्षदेखि ‘असाधारण रूपमा वर्षा’ भइरहेको सन्दर्भमा यस पटकको तथ्याङ्कले मौसमविद्हरूलाई समेत चकित तुल्याएको छ ।

संस्थानका अनुसार यस महिनाको आधा अवधिसम्ममा कुल सञ्चित वर्षा २२३.५ मिलिमिटर पुगिसकेको छ, जुन सामान्य अवस्थाको तुलनामा ३०४ प्रतिशत बढी हो । यो तथ्याङ्क सन् १९९१ देखि २०२० सम्मको औसत सन्दर्भ मूल्यभन्दा झन्डै तीन गुणा बढी हो । देशका अधिकांश भागमा सामान्यभन्दा ३०० देखि ४ सय प्रतिशतसम्म वर्षा रेकर्ड गरिएको छ भने दक्षिणमा अवस्थित मोरा, लाभ्राडियो र अल्भालाडे दो साडो जस्ता इलाकाहरूमा त औसतभन्दा पाँच गुणा (५ सय प्रतिशत) बढी वर्षा भएको पाइएको छ ।

IPMA ले मुख्य भूमि पोर्चुगलले नोभेम्बरदेखि फेब्रुअरी १५ को बीचमा हालैका दशकहरूमध्येकै सबैभन्दा धेरै वर्षाको अवधिको सामना गरिरहेको उल्लेख गरेको छ । गत वर्ष सन् २ हजार पछिको तेस्रो धेरै वर्षा भएको वर्ष बनेको थियो, जसमा वार्षिक कुल १ हजार ६४.८ मिमी वर्षा भएको थियो । रोचक कुरा त के छ भने, उक्त वर्ष वर्षा धेरै भए पनि छ वटा तातो लहरहरूका कारण यो पाँचौं सबैभन्दा तातो वर्षको रूपमा समेत रेकर्ड गरिएको थियो ।

वर्षाको यो शृङ्खला जनवरीदेखि नै आक्रामक देखिएको थियो। जनवरी महिनामा फ्रान्सिस, गोरेटी, इन्ग्रिड, जोसेफ र विनाशकारी क्रिस्टिन जस्ता पाँचवटा वायुमण्डलीय न्यून चापीय प्रणाली (डिप्रसन) हरू पोर्चुगल हुँदै अगाडि बढेका थिए । यसै क्रममा मोन्टे रियल एयर बेसको सतह स्टेशनमा हावाको गति १ हजार ७७.८ किलोमिटर प्रतिघण्टासम्म पुगेको रेकर्ड गरिएको थियो ।

देशका आधाभन्दा बढी क्षेत्रहरूले अहिले नै आफ्नो औसत वार्षिक वर्षाको कोटा पूरा गरिसकेका छन् भने फारो जस्ता सहरहरूमा वार्षिक औसतभन्दा बढी पानी परिसकेको छ ।

वर्तमान जलविज्ञान अवस्थालाई हेर्दा अक्टोबर १ देखि फेब्रुअरी १५ सम्मको कुल वर्षा ९०५.६ मिमी पुगेको छ, जुन औसतको १.८ गुणा हो। यो मात्रा सन् २ हजार १ को जलविज्ञान वर्षको कीर्तिमान भन्दा पनि बढी हो, जसलाई विगत २५ वर्षदेखि मुख्य मापदण्ड (बेन्चमार्क) मानिँदै आइएको थियो । लगातारको वर्षाका कारण उत्तर र मध्य पोर्चुगलको माटो पूर्ण रूपमा सन्तृप्त (स्याचुरेटेड) भएको छ, जसले गर्दा बाढी र जमिनको अस्थिरताका कारण पहिरो जाने जोखिम उच्च बनेको छ ।

Leave a Reply