Home Login
खेलकुद

रियल म्याड्रिडको गोलमा रियलको जित ; खेल १० मिनेट रोकियो

एजेन्सी – एस्टाडियो दा लुजमा सम्पन्न च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले बेन्फिकामाथि १-० को कठिन जित निकालेको छ । यो जितको मुख्य नायक भिनिसियस जुनियर बने, जसको एकमात्र गोल नै खेलको निर्णायक सावित भयो। तर, यो खेल गोलभन्दा पनि मैदानमा उत्पन्न विवाद र तनावका कारण बढी चर्चामा रह्यो ।

खेलको ५०औं मिनेटमा भिनिसियसले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै बक्स बाहिरबाट प्रहार गरेको सुन्दर कर्लिङ सट गोलमा परिणत भएको थियो । तर गोल लगत्तै माहोल तनावपूर्ण बन्यो ।

भिनिसियसले आफूमाथि जातीय दुर्व्यवहार भएको संकेत गर्दै आक्रोश व्यक्त गरे । बेन्फिकाका खेलाडी जियानलुका प्रेस्टियानीसँगको भनाभनपछि उनी रेफ्री फ्रान्कोइस लेटेक्सियरको नजिक पुगे । स्थिति यति गम्भीर बन्यो कि भिनिसियस खेल्न नमानेर बेन्चमा बस्न पुगे र उनका सहकर्मीहरूले पनि मैदान छाड्ने संकेत गरेपछि खेल १० मिनेटसम्म रोकियो । युइएफएको नियमअनुसारको प्रक्रिया र केही समयको विश्रामपछि भिनिसियस शान्त भएर मैदान फर्किए र खेल पूरा गरे ।

खेलको प्राविधिक पक्षलाई हेर्दा, सुरुवाती समयमा रियल म्याड्रिडले आफ्नो स्वाभाविक लय समात्न सकेको थिएन । तर पहिलो हाफको अन्त्यतिर रियलले लगातार दबाब सिर्जना गर्‍यो । किलियन एम्बाप्पे र अर्डा गुलरका सशक्त प्रहारलाई बेन्फिकाका गोलकिपर अनातोली ट्रुबिनले उत्कृष्ट बचाउ गर्दै पहिलो हाफलाई गोलरहित बराबरीमा राखेका थिए । दोस्रो हाफमा भिनिसियसको गोलपछि रियलले खेलमा पकड जमायो । खेलको अन्त्यतिर बेन्फिकाका प्रशिक्षक जोस मोरिन्होले लगातार दुई पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदान छाड्नुपर्यो, जसका कारण उनले दोस्रो लेग गुमाउनेछन् ।

यस्तै, च्याम्पियन्स लिगका अन्य प्ले अफ खेलहरूमा पनि नतिजाहरू आएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाकोलाई ३-२ को रोमाञ्चक अन्तरले हरायो भने बोरुसिया डर्टमुन्डले एटलान्टामाथि २-० को सहज जित निकाल्यो । अर्को खेलमा गालातासरेले बलियो मानिने युभेन्टसलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

Leave a Reply