काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं वृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशनको सरगर्मी बढ्दै जाँदा युरोप क्षेत्रबाट महिला नेतृत्वका लागि बाबा राजेश्वरी थापाले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेकी छन् । लामो समयदेखि प्रवासमा रहेका नेपालीहरूका विविध समस्या र सामाजिक मुद्दाहरूमा अग्रपंक्तिमा रहेर काम गर्दै आएकी थापाले आगामी कार्यकालका लागि एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
उम्मेदवारी घोषणाका क्रममा थापाले विशेष गरी युरोपमा रहेका नेपाली महिलाहरूको हक, अधिकार, समानता र सशक्तिकरणलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेकी छन् । उनले युरोपका विभिन्न देशमा श्रम गरिरहेका नेपाली दिदीबहिनीहरूले भोग्नुपरेका समस्याप्रति चासो व्यक्त गर्दै उनीहरूको हकहितको रक्षाका लागि आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाइन् । डायस्पोरामा रहेका धेरै नेपाली महिलाहरू अझै पनि आफ्ना समस्या स्पष्ट रूपमा राख्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै थापाले आफू ती ‘आवाजविहीन’ हरूको एउटा सशक्त र भरपर्दो आवाज बन्ने संकल्प लिएकी छन् ।
विभिन्न सामाजिक माध्यम र प्रत्यक्ष जनसम्पर्कमार्फत नेपाली समुदायको सेवामा निरन्तर सक्रिय रहँदै आएकी थापाले एनआरएनएको संरचनालाई अझै बढी प्रभावकारी र जनमुखी बनाउन आफ्नो उम्मेदवारी आवश्यक रहेको प्रस्ट पारेकी छन् ।
“युरोपमा विभिन्न कारणले टाढिएका र टुटेका मनहरूलाई जोड्नु, आपसी समझदारी र सहकार्यको वातावरण बनाउनु मेरो प्राथमिकता हो,” उनले भनिन्, “मेरो स्पष्ट प्रतिबद्धता सम्पूर्ण डायस्पोरालाई एकताबद्ध, सशक्त र संगठित बनाउनुमा केन्द्रित रहनेछ ।”
थापाले महिलाहरूको सम्मानजनक सहभागिता र नेतृत्वदायी भूमिका सुनिश्चित गर्दै एनआरएनएलाई एक न्यायपूर्ण, समावेशी र उत्तरदायी संगठनका रूपमा अघि बढाउने योजना सार्वजनिक गरेकी छन् । संस्थाभित्र पारदर्शिता र जिम्मेवारीबोधको संस्कृति विकास गर्दै प्रवासमा रहेका नेपालीहरूको आस्थाको केन्द्रका रूपमा एनआरएनएलाई स्थापित गर्न आफू पूर्ण रूपमा समर्पित रहने उनको भनाइ छ । आफ्नो यो अभियानलाई सफल बनाउन उनले सम्पूर्ण युरोपवासी गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अमूल्य साथ, रचनात्मक सुझाव र विश्वासको अपेक्षा समेत राखेकी छन् ।
आगामी मार्च १४–१५, २०२६ मा काठमाडौँमा हुने महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वमा थापाको आगमनले युरोप क्षेत्रको महिला नेतृत्वमा नयाँ ऊर्जा र गतिशीलता थप्ने अपेक्षा गरिएको छ ।





