पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा नवनिर्मित नेपाली राजदूतावासको मूल ढोकामा हिजो मात्रै यो आकर्षक स्वर्ण अक्षर अंकित ‘नामपाटी’ (नेमप्लेट) टाँसिएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगलकी राज्यसचिव डा. आना इसाबेल जेभियरले दूतावासको औपचारिक उद्घाटन गरेसँगै यो नामपाटीले अब लिस्बनको मुटुमा नेपालको आधिकारिक र गौरवपूर्ण उपस्थितिको प्रतिनिधित्व गर्नेछ ।
यो चम्किलो बोर्ड केवल एउटा धातुको टुक्रा मात्र नभई पोर्चुगलमा रहेका हजारौँ नेपालीहरूका लागि आफ्नो देशको अभिभावकत्व र राज्यको सामीप्यता महसुस गराउने एउटा बलियो प्रतीक पनि हो । लामो समयको प्रतीक्षापछि आफ्नै राजदूतावास स्थापना भएर यसरी आधिकारिक चिनारीसहितको बोर्ड देखिनुले यहाँ बस्ने नेपाली समुदायमा खुसी र उत्साह थपेको छ ।





