स्पेन — स्पेनको भ्यालेन्सीयाको अल्जिरामा कामबाट फर्किने क्रममा नेपाली सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि १३ जना नेपाली, २ जना पाकिस्तानी घाइते बनेका छन् ।
घाइतेमध्ये १ जनाको हात र ढाडमा गम्भीर चोट लागेको छ । अन्य ४ जना मध्यम तथा अरु सामान्य घाइते भएका छन् । टस अल्बेरीकमा बस्दै आएका नेपालीहरुलाई पाकिस्तानीले लामो दुरीको यात्रा गराउदै खेतीमा काम लगाउन लैजाने गरेको खुलेको छ । नेपाली जनप्रगतीशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलले घाइतेमध्ये १ जनाको ढाडको अप्रेसन गर्न अस्पतालमा भर्ना भएको जानकारी दिए । उनका अनुसार सबै घाइतेको सहज उपचारका लागि समन्वयका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको छ ।
पाद्रोनामेन्तो, मेडिकल कार्ड नभएपनि उपचारमा सहजता लागि पहल भएको उनको भनाइ छ । घाइतेहरुको अवस्था बुझ्न गार्दिया सिभिल प्रहरीको टोलि समेत बसेकै ठाउँमा पुग्दैछ । तीन चार महिनादेखि काम गरेको रकम नपाएपछि नेपालीहरु निकै बिचल्लीमा रहेका छन् ।
पैसा दिन्छु भन्दै काममा लगेर फर्किने बेला गाडी दुर्घटनामा परेको हो । एउटै गाडीमा १५ जना राखेर बासस्थान फर्किने क्रममा बिहिवार राति ६ बजे दुर्घटना भएको हो । घाइते भएर कोठामा आराम गर्दा समेत काममा नगए कोठा छोडेर जान धम्की आएको नेपालीहरुले गुनासो गरेका छन् । उनीहरुको न्यायका लागि स्थानीय सरकार र प्रहरीसँग समन्वय गरिने कँडेलले बताए ।





