Home Login
पोर्चुगल

लिस्बनले गर्यो नयाँ वर्षलाई स्वागत ; पोर्चुगलभर नयाँ वर्षको भव्य उल्लास

लिस्बन (पोर्चुगल) — पोर्चुगलको राजधानी लिस्बन, जहाँ युरोपका विभिन्न संस्कृतिहरूको संगम हुन्छ, त्यहीँको ऐतिहासिक रोसियो क्षेत्रमा गए राति अभूतपूर्व उत्साहका साथ नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ । सन् २०२५ को अन्तिम साँझ अर्थात् डिसेम्बर ३१ तारिखको घडीमा बेलुकी ९ बजे नबज्दै रोसियो स्क्वायर मानिसहरूको बाक्लो उपस्थितिले भरिभराउ भइसकेको थियो । लिस्बन महानगरपालिकाले विशेष रूपमा आयोजना गरेको यस कार्यक्रममा स्थानीय पोर्चुगिज मात्र नभई विश्वका विभिन्न कुनाबाट आएका पर्यटक र आप्रवासीहरूको उल्लेख्य सहभागिता देखिन्थ्यो ।

रोसियोमा जडान गरिएको विशाल मञ्च र त्यहाँबाट गुञ्जिरहेको डीजेको सङ्गीतले उपस्थित हजारौं दर्शकलाई मध्यरातसम्म नचाएको थियो । चिसो मौसमको परवाह नगरी मानिसहरू सडकमा उत्रिएका थिए । ठीक १२ बज्दा आकाशमा रङ्गीचङ्गी आतिशबाजी छुट्नासाथ उपस्थित भीडले एकै स्वरमा ‘ह्याप्पी न्यु इयर २०२६’ भन्दै खुशी साटासाट गरेका थिए । सङ्गीतको ताल, रङ्गीन बत्तीहरूको झिलिमिली र मानिसहरूको उल्लासले ऐतिहासिक रोसियो क्षेत्र कुनै जादुमयी नगरी जस्तै देखिएको थियो । लिस्बन महानगरपालिकाले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएको कारण कार्यक्रम निकै व्यवस्थित र भव्य रूपमा सम्पन्न भयो ।

राजधानी लिस्बनको रोसियो मात्र होइन, ‘तेर्रेइरो दो पासो’ लगायतका प्रमुख पर्यटकीय क्षेत्रहरूमा पनि लाखौंको जनसागर ओर्लिएको थियो । टेगस नदीको किनारबाट पड्काइएको आतिशबाजीले लिस्बनको आकाशलाई झिलिमिली बनाएको दृश्य निकै मनमोहक थियो । यता लिस्बन बाहिर पोर्चुगलको दोस्रो ठूलो सहर पोर्टोमा पनि नयाँ वर्षको रौनक कम थिएन । पोर्टोको आलियादोस एभिन्यूमा हजारौं मानिसहरू भेला भएर कन्सर्ट र आतिशबाजीको आनन्द लिएका थिए ।

त्यस्तै, विश्वकै उत्कृष्ट आतिशबाजीका लागि चर्चित पोर्चुगलको टापु मदेइरा फुन्चालमा पनि आकाश नै ढाक्ने गरी भव्य आतिशबाजी प्रदर्शन गरियो । हजारौं पर्यटकहरू पानीजहाज र सडक किनारबाट उक्त दृश्य कैद गर्न तल्लीन देखिन्थे । दक्षिणको अल्गार्भ क्षेत्रमा पनि विभिन्न साङ्गीतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षलाई स्वागत गरियो। समग्रमा भन्नुपर्दा, सन् २०२६ को आगमनसँगै पोर्चुगलका सडकहरूमा आशा, उमङ्ग र खुशीको सञ्चार भएको छ ।

आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको पोर्चुगलमा नेपाली समुदायले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै भव्यताका साथ नयाँ वर्ष मनाएका छन् ।

Leave a Reply