Home Login
पोर्चुगल

पोर्चुगलमा सडक दुर्घटनामा ३८ जनाको मृत्यु, ६ हजारभन्दा बढी दुर्घटना

पोर्चुगल — पोर्चुगलमा यस वर्षको क्रिसमस र नयाँ वर्ष (२०२५/२०२६) को अवसरमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा सडक दुर्घटनाको तथ्याङ्क अत्यन्तै निराशाजनक र पीडादायी देखिएको छ । राष्ट्रिय रिपब्लिकन गार्ड (GNR) र सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले संयुक्त रूपमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार, डिसेम्बर १८ देखि जनवरी ४ सम्मको १८ दिने छोटो अवधिमा सडक दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् ।

सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले यसअघि नै आफ्नो क्षेत्राधिकार भित्र १० जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिसकेको थियो । राष्ट्रिय रिपब्लिकन गार्ड (GNR) ले आफ्नो अन्तिम तथ्याङ्क सार्वजनिक गर्दै थप २८ जनाको मृत्यु भएको पुष्टि गरेपछि, चाडपर्वको अवधिमा ज्यान गुमाउनेको कुल सङ्ख्या ३८ पुगेको हो । GNR का लेफ्टिनेन्ट कर्नल पेड्रो ब्यारेटले यस तथ्याङ्कलाई “दुःखद सङ्ख्या” भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

दुर्घटनाको विस्तृत विवरण हेर्दा स्थिति झनै भयावह देखिन्छ । सुरक्षा निकायहरूको १८ दिने संयुक्त अपरेशनका क्रममा पोर्चुगिज सडकहरूमा कुल ६ हजार ८३ वटा दुर्घटना दर्ता भएका छन् । यसमध्ये GNR ले ३ हजार ५ सय ८४ र PSP ले २ हजार ४ सय ९९ वटा दुर्घटना रेकर्ड गरेका छन् । यी दुर्घटनाहरूमा परी ३८ जनाको मृत्यु हुनुका साथै १ सय २७ जना गम्भीर घाइते भएका छन् भने १ हजार ६ सय ४३ जना सामान्य घाइते भएका छन् । अधिकारीहरूले अघिल्लो वर्षको तुलनामा सामान्य घाइतेको सङ्ख्यामा केही कमी आए पनि दुर्घटनाको सङ्ख्या, गम्भीर चोटपटक र मृत्यु हुनेको दर बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

सडक सुरक्षा तथा ट्राफिक नियम पालनाको सन्दर्भमा प्रहरीले १ लाख ४५ हजार २ सय २३ जना चालकहरूको जाँच गरेको थियो । जाँचका क्रममा नियम उल्लङ्घनका १९ हजार ७ सय ७८ घटनाहरू फेला परेका छन् । जसमा सबैभन्दा बढी, अर्थात् ३ हजार ८१ जना तीव्र गतिमा सवारी चलाउने चालकहरू कारबाहीमा परेका छन् ।

जाँचका क्रममा मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति पनि व्यापक देखिएको छ । कुल १ हजार ४ सय ४८ जना चालकहरूले मदिरा सेवन गरेको पाइएको थियो, जसमध्ये ७४१ जनालाई रगतमा अल्कोहलको मात्रा अत्यधिक (१.२ ग्राम/लिटर वा सोभन्दा बढी) भेटिएपछि तत्काल पक्राउ गरिएको थियो । यसबाहेक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना नै गाडी चलाउने २ सय ६२ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य प्रमुख उल्लङ्घनहरूमा अनिवार्य सवारी निरीक्षण (इन्स्पेक्सन) नभएका २ हजार ९ सय ३१, बिमा नभएका ८ सय २८, सिट बेल्टको प्रयोग नगर्ने ५ सय ६ र मोबाइल फोन प्रयोग गर्ने ४ सय ७८ जना चालकहरू कारबाहीमा परेका छन् ।

मृत्युको घटनालाई विश्लेषण गर्दा नयाँ वर्षको आसपासको समय सबैभन्दा घातक साबित भएको छ । कुल ३८ जना मृतकहरूमध्ये २३ जनाको मृत्यु नयाँ वर्षको अवधिमा भएको थियो। अझ शुक्रबार र शनिबारको दुई दिनमा मात्रै आठ जनाको मृत्यु भएको तथ्याङ्कले प्रत्येक दिन औषतमा चार जनाले ज्यान गुमाएको देखाउँछ ।

सुरक्षा निकायहरूले वर्षौंदेखि चाडपर्वका बेला हुने दुर्घटना रोक्न विभिन्न जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएका छन् । यति हुँदाहुँदै पनि सडक सुरक्षाको अवस्थामा सुधार नआएको र मानिसहरूको ज्यान जाने क्रम नरोकिएकोमा लेफ्टिनेन्ट कर्नल ब्यारेट लगायतका अधिकारीहरूले पछुतो मान्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार यो प्रवृत्ति अन्त्य हुनुपर्नेमा झन् बढ्दै जानु दुर्भाग्यपूर्ण हो ।

Leave a Reply