Home Login
खेलकुद

लिस्बनमा सम्पन्न ‘प्रथम भिजन गोल्डकप २०२५’: हिमालयन एफसी बने च्याम्पियन

लिस्बन (पोर्चुगल) — क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को उल्लासमय अवसर पारेर पोर्चुगलको लिस्बनमा आयोजित प्रतिष्ठित ‘प्रथम भिजन गोल्डकप २०२५’ फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । पोर्चुगलमा सक्रिय फुटबल क्लब ‘भिजन एफसी’ को आयोजना र ‘हिर बास्मती’को मुख्य प्रायोजनमा सञ्चालित यो ७-ए-साइड फुटबल महाकुम्भ गत आइतबार, डिसेम्बर २८ का दिन लिस्बनस्थित ‘क्याम्पो क्लब फेरोविरियो डे पोर्चुगल’ को खेल मैदानमा आयोजना गरिएको थियो । प्रवासमा रहेर पनि खेलकुदको माध्यमबाट नेपाली समुदायलाई जोड्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा खुला (ओपन) र भेट्रान (३५ वर्षमाथि) गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको मुख्य आकर्षण मानिएको खुला (ओपन) ७-ए-साइड तर्फको उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक रह्यो । अन्ततः उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै हिमालयन एफसी ले प्रथम भिजन गोल्डकपको उपाधि उचाल्न सफल भयो । फाइनल खेलमा कडा चुनौती प्रस्तुत गरेको ट्रिपल टी एफसी उपविजेतामा सीमित भयो । विजेता बनेको हिमालयन एफसीले ३ हजार ५ सय युरो नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता ट्रिपल टीले १ हजार ७ सय ५० युरो नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यसैगरी, ३५ वर्षभन्दा माथिको उमेर समूह अर्थात् भेट्रान तर्फको खेलमा जाम्बुजेरा एफसी ले बाजी मारेको छ । अनुभव र जोशको समिश्रण देखिएको फाइनल खेलमा मोन्टीजो समाज लाई पछि पार्दै जाम्बुजेरा च्याम्पियन बनेको हो । भेट्रान तर्फको विजेता जाम्बुजेराले १ हजार २ सय युरो नगद पुरस्कार हात पार्दा उपविजेता मोन्टीजो समाजले ६ सय युरो नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सामूहिक उपाधिसँगै प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विधागत पुरस्कारले सम्मान गरिएको थियो । ओपन तर्फ हिमालयन एफसीका रिकेश श्रेष्ठले उत्कृष्ट गोलकिपरको उपाधि जिते भने सोही क्लबका सरोज गुरुङ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेका ट्रिपल टी एफसीका ओम तामाङ ‘बेस्ट डिफेन्डर’ बन्दा धरान सिटी एफसीका निर्दोष हमालले सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो पोल्टामा पारे ।

यस्तै भेट्रान विधामा पनि खेलाडीहरूको व्यक्तिगत कौशलको कदर गरियो । जसमा मोन्टीजो समाजका टिका पैजा उत्कृष्ट गोलकिपर र इन्द्र गुरुङ उत्कृष्ट डिफेन्डर चुनिए । जाम्बुजेरा एफसीका दिपेन राईले सर्वाधिक गोलकर्ताको उपाधि जित्दा सोही क्लबका युवराज थापा मगर भेट्रान तर्फको सर्वोत्कृष्ट खेलाडी घोषित भए । पोर्चुगलमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको यो प्रतियोगिताले खेलप्रेमीहरूमा नयाँ उत्साह थपेको छ ।

Leave a Reply