लिस्बन — पोर्चुगलको राजधानी लिस्बनमा लामो समयदेखि नेपाली स्वाद र परिकारका लागि चर्चित ‘गोल्डेन गेट’ नेपाली रेस्टुरेन्टले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाएको छ । नेपाली समुदायमाझ लोकप्रिय रहेको यो रेस्टुरेन्टले अब पोर्चुगिज परिकारमा केन्द्रित हुँदै आफ्नो नयाँ शाखाको रूपमा ‘चुरास्केइरा साभोर लिस्बोआ रेस्टुरेन्ट’ (Churrasqueira sabor Lisboa) सञ्चालनमा ल्याएको हो ।
सञ्चालक प्रेम खड्काका अनुसार, यो नयाँ शाखा गोल्डेन गेट रेस्टुरेन्टको ठीक नजिकै खोलिएको छ । नेपाली व्यवसायीहरूले सामान्यतया नेपाली वा एसियाली खानामा मात्र लगानी गरिरहेको परिप्रेक्ष्यमा, खड्काले नेपालीहरु, पोर्चुगलका स्थानीय नागरिक र बाह्य पर्यटकहरूको स्वादलाई प्राथमिकता दिने उद्देश्यले यो नयाँ अवधारणा ल्याएका हुन् । ‘चुरास्केइरा साभोर रेस्टुरेन्ट’ विशेष गरी पोर्चुगलमा ग्रिल गरिएका परिकार (BBQ) का लागि प्रख्यात मानिन्छ, तसर्थ यो नयाँ शाखाले स्थानीय ग्राहकहरूको मन जित्ने विश्वास लिइएको छ ।
उक्त नयाँ रेस्टुरेन्ट लिस्बनको व्यस्त व्यापारिक क्षेत्र अरोयस मार्केटको भित्रपट्टि (Mercado de Arroios) अवस्थित छ । यसको ठेगाना ‘रुवा एन्जेला पिन्टो, नम्बर २१, मर्कादो द अरोयस, १९००-०६७ (Rua Ângela Pinto Loja 21, Mercado de Arroios, 1900-067) रहेको छ । सञ्चालक खड्काले दिएको जानकारी अनुसार, हालका लागि यो रेस्टुरेन्टमा ‘टेक अवे’ (Take Away) अर्थात् प्याक गरेर लैजाने सुविधा मात्र उपलब्ध गराइएको छ ।
नेपाली व्यवसायीहरूले पोर्चुगलको मूलधारको बजारमा प्रतिस्पर्धा गर्न र स्थानीय समुदायसँग घुलमिल हुनका लागि यस्ता प्रयासहरूलाई सकारात्मक कदमका रूपमा हेरिएको छ । व्यस्त सहरी क्षेत्रमा खोलिएको र स्थानीय स्वाद पस्कने भएकाले यो ‘चुरास्केइरा’ ले छिट्टै नै ग्राहकहरूको विश्वास जित्ने अपेक्षा गरिएको छ ।






