Home Login
स्वास्थ्य

सबैभन्दा बढी यौन सक्रिय देशहरूको सूचीमा पोर्चुगल ११ औं स्थानमा : स्पेन शीर्षमा

पोर्चुगल — चर्चित मिडिया तथा तथ्याङ्क विश्लेषक संस्था ‘इनसाइडर मङ्की’ले सन् २०२३ मा सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार विश्वमा सबैभन्दा बढी यौन सम्पर्क राख्ने देशहरूको सूचीमा युरोपेली मुलुक स्पेन शीर्ष स्थानमा रहेको छ ।

मानिसहरूको यौन व्यवहार, आवृत्ति र सांस्कृतिक खुलापनलाई आधार मानेर तयार पारिएको यो सूचीले युरोपेली तथा ल्याटिन अमेरिकी देशहरूमा यौन जीवन बढी सक्रिय रहेको देखाएको छ । स्पेनपछि क्रमशः इटाली र स्विट्जरल्याण्डले दोस्रो र तेस्रो स्थान ओगटेका छन् ।

यस सूचीमा पोर्चुगलले पनि महत्वपूर्ण स्थान बनाएको छ । विश्वका शक्तिशाली र ठूला मानिने देशहरूलाई पछि पार्दै पोर्चुगल ११ औं स्थानमा पर्न सफल भएको हो। विशेषगरी संयुक्त राज्य अमेरिका (१२ औं) र बेलायत (१३ औं) जस्ता देशहरू भन्दा पोर्चुगिज नागरिकहरू यौन जीवनमा बढी सक्रिय रहेको तथ्याङ्कले देखाएको छ । यो नतिजाले पोर्चुगलको सामाजिक जीवनशैली र आत्मीय सम्बन्धप्रतिको दृष्टिकोणलाई उजागर गरेको छ, जहाँ मानिसहरूले आफ्नो व्यक्तिगत सम्बन्धलाई उच्च प्राथमिकता दिएको देखिन्छ ।

सूचीको शीर्ष १० भित्र युरोपेली देशहरूको वर्चस्व स्पष्ट देखिन्छ। पोल्याण्ड चौथो र ग्रीस पाँचौं स्थानमा रहँदा जर्मनी नवौं र रूस दशौं स्थानमा छन् । युरोप बाहिरबाट ल्याटिन अमेरिकी देशहरू मेक्सिको छैटौं र ब्राजिल सातौं स्थानमा रहँदै आफ्नो दरिलो उपस्थिति जनाएका छन् । यसले न्यानो हावापानी र खुला संस्कृति भएका देशहरूमा यौन सक्रियता बढी हुने सामान्य बुझाइलाई बल पुर्‍याएको छ ।

एसियाली मुलुकहरूको कुरा गर्दा, विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आठौं स्थानमा रहँदै शीर्ष १० भित्र अटाएको छ, जुन धेरैका लागि आश्चर्यजनक हुन सक्छ । त्यस्तै, मलेसिया १५ औं स्थानमा र भारत २० औं स्थानमा रहेका छन् । समग्रमा यो सूचीले भौगोलिक सीमा र सांस्कृतिक भिन्नताका बाबजुद मानिसहरूको यौन व्यवहारमा विविधता रहेको र यसमा पश्चिमी तथा युरोपेली देशहरू तुलनात्मक रूपमा अगाडि रहेको निष्कर्ष निकालेको छ ।

Leave a Reply