Home Login
संघ-संस्था

स्पेनको बार्सिलोनामा २८६२ औं सोनाम ल्होछार भव्य रूपमा मनाइने

बार्सिलोना (स्पेन) — स्पेनको बार्सिलोनामा तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछार यस वर्ष निकै भव्यताका साथ मनाइने भएको छ । तामाङ समुदायको मन्जुश्री २८६२ औं सोनाम ल्होछार अर्थात् ‘ता ल्हो’ (घोडा वर्ग) को पावन अवसर पारेर नेपाल तामाङ एकता समाज स्पेनले यही आउँदो जनवरी १८ तारिखका दिन बार्सिलोना स्थित ‘कासा दे टिबेट’ मा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको समाजका वरिष्ठ उपाध्यक्ष पासाङ रुम्बा (सगुन) ले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यक्रमको तयारी तीव्र पारिएको छ र यसलाई सभ्य तथा भव्य बनाउन समाजका सबै सदस्यहरू जुटिरहेका छन् । यो पर्व तामाङ समुदायको नयाँ वर्ष मात्र नभई सम्पूर्ण नेपालीहरूको पहिचानसँग जोडिएको विषय भएकाले कार्यक्रममा विशेष सांस्कृतिक प्रस्तुतिहरू समेत रहने अपेक्षा गरिएको छ ।

समाजका अध्यक्ष पान बहादुर तामाङले यस कार्यक्रममा उपस्थितिका लागि स्पेनबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ । उहाँका अनुसार नेपाल तामाङ एकता समाज स्पेनले संस्थागत रूपमा मनाउन लागेको यो पहिलो ल्होछार कार्यक्रम हो । परदेशको ठाउँमा आपसी भाइचारा, एकता र सद्भावको सूत्रमा बाँध्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ । अध्यक्ष तामाङले यो कार्यक्रम केवल तामाङ समुदायका लागि मात्र नभई गैर-तामाङ समुदाय र स्पेनमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकै ठाउँमा जोड्ने साझा थलो भएको बताउनुभयो ।

आफ्नो भेषभूषा, भाषा र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्नका लागि आयोजना गरिएको यस विशेष समारोहमा सहभागी भई आपसमा शुभकामना साटासाट गर्न र परदेशमा नेपालीपनको महसुस गर्न आयोजक समितिले सबैलाई अनुरोध गरेको छ । आफ्नो कला र संस्कृतिलाई सधैं जीवित राख्न र नयाँ पुस्तालाई पनि यसबारे जानकारी गराउन यस्ता कार्यक्रमहरू अपरिहार्य रहेको समाजको ठहर छ ।

Leave a Reply