लिस्बन (पोर्चुगल) — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा बस्दै आएका एक नेपाली युवाको उपचारका क्रममा असामयिक निधन भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर स्थायी घर भएका ३० वर्षीय शंकर श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
विगत केही समयदेखि पोर्चुगलको ‘एम.न्हा दास ओन्डास’ (M.nha das Ondas) क्षेत्रमा बसोबास गर्दै आएका श्रेष्ठ सन् २०२० मा सुन्दर भविष्यको सपना बोकेर पोर्चुगल आइपुगेका थिए । परदेशमा संघर्ष गरिरहेका श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई लिस्बनस्थित सरकारी अस्पताल ‘ओन्कोलोजी इन्स्टिच्युट फ्रान्सिस्को जेन्टिल’ (Oncology Institute Francisco Gentil) मा भर्ना गरिएको थियो ।
चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेकै अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । युवा अवस्थामा नै भएको श्रेष्ठको यो असामयिक निधनले परिवार र आफन्तजनमा गहिरो चोट पुगेको छ । परदेशको ठाउँमा भएको यो दैवी विपत्तिसँगै परिवारका सामु अर्को ठूलो चुनौती आइपरेको छ । मृतक श्रेष्ठको शवलाई अन्तिम संस्कारका लागि स्वदेश (नेपाल) पठाउन तथा शव व्यवस्थापन लगायतका प्रक्रिया पूरा गर्न ठूलो धनराशिको आवश्यकता परेको छ । तर, परिवारको आर्थिक अवस्थाले उक्त खर्च धान्न नसक्ने स्थिति सिर्जना भएको हुँदा परिवारले सहयोगी मनहरूसँग गुहार मागेका छन् ।
यस दुःखद् परिस्थितिमा मृतकका मामा बुद्धिमान श्रेष्ठले पोर्चुगलस्थित सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र समाजसेवीहरूसँग सहयोगको याचना गरेका छन् । उनले एक अपिल जारी गर्दै भनेका छन्, “हाम्रो परिवारमा परेको यो बज्रपात र आर्थिक संकटको अवस्थालाई मध्यनजर गर्दै मानवीय भावनाका साथ यथासक्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।”
सहयोग संकलनका लागि मृतकका मामा बुद्धिमान श्रेष्ठको बैंक खाता विवरण सार्वजनिक गरिएको छ । परदेशमा अलपत्र परेको नेपालीको शवलाई आफ्नै माटोमा अन्तिम विदाई गर्न चाहने परिवारको इच्छा पूरा गर्न सानो सहयोग पनि महत्त्वपूर्ण हुनेछ ।
सहयोगका लागि बैंक विवरण :
खातावालाको नाम : बुद्धिमान श्रेष्ठ (Buddhi Man Shrestha)
बैंक खाता नम्बर (IBAN) : PT50 0007 0000 0050 5908 6422 3





