Home Login
संघ-संस्था

राजेश पायल राईको साथमा पोर्चुगलमा ल्होछार विशेष कार्यक्रम हुँदै

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ को पावन अवसर पारेर पोर्चुगलमा सांगीतिक साँझको आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको मुख्य आयोजनामा हुन गइरहेको यस विशेष कार्यक्रमका लागि नेपाली सुगम संगीतका धरोहर तथा ‘राई इज किङ’ का उपनामले परिचित चर्चित गायक राजेश पायल राई पोर्चुगल आउने निश्चित भएको छ ।

राजधानी लिस्बनस्थित प्रसिद्ध कार्यक्रम स्थलरिपब्लिका दा म्युजिकामा आयोजना हुने यो कार्यक्रम आगामी जनवरी २५ तारिख, आइतबारका दिन हुने तय भएको छ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो जादुमयी आवाजमार्फत करोडौं श्रोताको मन जित्न सफल गायक राईको उपस्थितिले पोर्चुगलमा रहेका नेपालीहरूमाझ छुट्टै उत्साह थपेको छ । उनीसँगै पछिल्लो समय निकै चर्चामा रहेका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का लोकप्रिय प्रतियोगी तथा गायक नवाङ लामा पनि पहिलो पटक सांगीतिक प्रस्तुतिका लागि पोर्चुगल आउने भएका छन् ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष फुर्पा तामाङका अनुसार, कार्यक्रममा नेपालबाट आमन्त्रित यी दुई मुख्य कलाकारहरूका साथै स्थानीय तथा अन्य चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । गायक नवाङ लामा र राजेश पायल राईको बेजोड सांगीतिक प्रस्तुतिमा दर्शकहरूलाई छमछमी नचाउने र भरपुर मनोरञ्जन प्रदान गर्ने तयारी आयोजकले गरेको छ । सोनाम ल्होछारको शुभकामना आदानप्रदानसहितको यो कार्यक्रम सांगीतिक र सांस्कृतिक हिसाबले निकै भव्य हुने अपेक्षा गरिएको छ ।

यो कार्यक्रमले केवल मनोरञ्जन मात्र प्रदान नगरी सात समुद्रपारिको भूमिमा तामाङ जातिको मौलिक भेशभूषा, भाषा, र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने लक्ष्य राखेको छ । अध्यक्ष फुर्पा तामाङले प्रवासमा बसोबास गरिरहेका नेपालीहरू, र विशेष गरी यहाँ हुर्कँदै गरेको नयाँ पुस्तालाई आफ्नो पुर्ख्यौली जरा र पहिचानसँग जोड्नका लागि यस्ता कार्यक्रमहरू कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ । ल्होछारको उमंगसँगै आफ्ना मनपर्ने कलाकारहरूको प्रस्तुति हेर्न पोर्चुगलबासी नेपालीहरूलाई आयोजकले निमन्त्रणा गरेको छ ।

Leave a Reply