पोर्चुगल — चर्चित गायक तथा संगीतकार उर्गेन दोङ र सुरीली स्वरकी धनी गायिका रमला पाख्रिन तामाङको विशेष सांगीतिक प्रस्तुतिले यस वर्षको सोनाम ल्होछार पोर्चुगलमा विशेष उल्लासमय हुने भएको छ ।
नेपालीहरूको राष्ट्रिय पर्व तथा तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको पावन अवसर पारेर नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले गर्न लागेको बृहत् सांस्कृतिक कार्यक्रममा यी दुई चर्चित कलाकारहरूले पोर्चुगलबासी नेपालीहरूलाई नचाउने भएका हुन् ।
नेपालबाट विशेष आमन्त्रण गरिएका गायक दोङ र गायिका पाख्रिनको उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा उनीहरूको बेजोड प्रस्तुति मुख्य आकर्षणको रूपमा रहनेछ ।
गायक तथा संगीतकार उर्गेन दोङ पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय छन् भने गायिका रमला पाख्रिन आफ्ना मौलिक सेलो तथा तामाङ गीतहरूका कारण दर्शक–श्रोताको मनमा बस्न सफल छिन् ।
यो भव्य सांगीतिक समारोह सन् २०२६ फेब्रुअरी ८ का दिन आयोजना गरिएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित ‘रिपब्लिका द म्योजिका’ (República da Música) हलमा दिनको १२ बजेदेखि सुरु हुनेछ । उक्त स्थान लिस्बनको रुवा दो सेन्त्रो कल्चरल, २९ (Rua do Centro Cultural, 29) मा अवस्थित छ । आयोजकले सोनाम ल्होछारको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्वलाई प्रवासमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्न यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास लिएका छन् ।
कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरूका अलावा पोर्चुगलमै बसोबास गरिरहेका स्थानीय प्रतिभाहरूले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् । उनीहरूले मौलिक तामाङ सांस्कृतिक नृत्य, गीत र विविध सांगीतिक प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । परदेशको व्यस्त दैनिकीका बाबजुद आफ्ना मनपर्ने कलाकारहरू उर्गेन र रमलालाई प्रत्यक्ष सुन्न र हेर्न पाइने भएपछि पोर्चुगलमा रहेका नेपालीहरूमा उत्साह छाएको छ ।






