लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलमा २०२६ जनवरी १८ (आइतबार) सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । पोर्चुगलका प्रमुख सञ्चारमाध्यमहरू आरटीपी (RTP), सिको नोटिसियास (SIC Notícias) र पब्लिको (Público) ले प्रकाशित गरेको प्रारम्भिक नतिजा अनुसार, कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत (५० प्रतिशत भन्दा बढी मत) ल्याउन नसकेपछि अब नयाँ राष्ट्रपतिका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको छ ।
आइतबार सम्पन्न मतदानमा ११ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए। सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार समाजवादी पार्टी (Socialist Party) का पूर्व महासचिव एन्टोनियो जोस सेगुरो (António José Seguro) ले सबैभन्दा बढी मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । उनले खसेको कुल मतको करिब ३०.२४ प्रतिशत मत प्राप्त गरेका छन् । यद्यपि, राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक ५० प्रतिशत मत कटाउन नसक्दा उनी पहिलो चरणमै विजयी हुन सकेनन् ।
दोस्रो स्थानमा दक्षिणपन्थी दल ‘सेगा’ (Chega) का नेता आन्द्रे भेन्चुरा (André Ventura) रहेका छन् । उनले करिब २६.८९ प्रतिशत मत प्राप्त गर्दै सेगुरोलाई कडा टक्कर दिएका छन् । आप्रवासन विरोधी कडा नीतिका कारण चर्चामा आएका भेन्चुराको यो मत प्रतिशतले पोर्चुगलको राजनीतिमा दक्षिणपन्थी धारको प्रभाव बढ्दै गएको संकेत गरेको विश्लेषकहरूले बताएका छन् ।
त्यसैगरी, सत्तारुढ गठबन्धनको समर्थन रहेका लुइस मार्क्स मेन्डेस (Luís Marques Mendes) तेस्रो स्थानमा खुम्चिन पुगेका छन् । उनले करिब १४.५४ प्रतिशत मत मात्र प्राप्त गर्न सके। चौथो स्थानमा कोभिड-१९ खोप अभियानको नेतृत्व गरेर चर्चामा आएका पूर्व एडमिरल हेनरिक गोभिया ई मेलो (Henrique Gouveia e Melo) रहेका छन्, जसले ११.८५ प्रतिशत मत पाएका छन् भने लिबरल इनिसिएटिभका जोआओ कोट्रिम डि फिग्युरेडो (João Cotrim de Figueiredo) ११.७४ प्रतिशत मतसहित पाँचौँ स्थानमा रहेका छन् ।
पोर्चुगलको निर्वाचन आयोग र सञ्चारमाध्यमहरूका अनुसार अब पहिलो र दोस्रो स्थानमा रहेका दुई उम्मेदवार, एन्टोनियो जोस सेगुरो र आन्द्रे भेन्चुराबीच फेरि अर्को चरणको प्रतिस्पर्धा हुनेछ । यो निर्वाचनले पोर्चुगलको लोकतान्त्रिक इतिहासमा विरलै हुने ‘रन-अफ’ (Run-off) को अवस्था सिर्जना गरेको छ । वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डि सुसाको कार्यकाल सकिन लागेपछि नयाँ नेतृत्व चयनका लागि यो निर्वाचन भएको हो ।
निर्वाचनमा करिब ५२ देखि ५८ प्रतिशतको हाराहारीमा मतदाता अनुपस्थित (Abstention) रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ । अब दोस्रो चरणको निर्वाचन फेब्रुअरी ८ तारिख गरिनेछ, जसले पोर्चुगलको आगामी ५ वर्षको लागि नयाँ राष्ट्रपति टुंगो लगाउनेछ ।





