Home Login
संघ-संस्था

पाफोसमा ‘लामा अपार्ट’ को आयोजनामा ऐतिहासिक सोनाम ल्होसार सम्पन्न

पाफोस (साइप्रस) — रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा साइप्रसका विभिन्न सहरहरूमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै प्रवासमा पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने पवित्र उद्देश्यका साथ ‘सोनाम ल्होसार’ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायको महान् सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ औँ सोनाम ल्होसारको पावन अवसर पारेर गत आइतबार, जनवरी १८ तारिखका दिन पाफोस सहरस्थित ‘मोन्टे लिजा समारोह हल’ मा उक्त ऐतिहासिक कार्यक्रम आयोजना गरिएको हो । आयोजक ‘लामा अपार्ट’ पाफोसले आफ्नो तेस्रो कार्यक्रमको रूपमा ल्होसार विशेष कार्यक्रम आयोजना गरेको भए पनि ल्होसारकै सन्दर्भमा भने यो उनीहरूको पहिलो र ऐतिहासिक आयोजना हो ।

परदेशको व्यस्तताका बाबजुद पनि आफ्नो संस्कार र संस्कृतिलाई माया गर्ने नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता सुदर्शन नेगीले गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी पियुष लामा नेगीले उपस्थित सम्पूर्णमा ल्होसारको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । राजमान घलान र सृजना मोक्तानले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक संस्थाले साइप्रसमा सक्रिय रहेका नेपाली मिडियाकर्मीहरूलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित गायक तथा मङ्गोलियन हार्ट ब्यान्डका प्रमुख गायक राजु लामाको विशेष प्रस्तुति रहेको थियो । लामाको उपस्थितिले कार्यक्रम स्थल सङ्गीतमय बनेको थियो ।

उहाँले आफ्ना चर्चित गीतहरू पस्किएर दर्शकलाई नचाउनुभएको थियो भने उपस्थित दर्शकहरूले उहाँको सांगीतिक प्रस्तुतिमा रमिदै साथ दिएका थिए । साथै, स्थानीय कलाकारहरूले पनि आफ्ना बेजोड प्रस्तुतिहरू मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्कने सेलो, डम्फु धुन र स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो । परम्परागत भेषभुषामा सजिएका सहभागीहरू र विविध लोकभाकाको प्रस्तुतिले पाफोस सहर मिनी नेपाल जस्तै देखिएको थियो । आफ्नो मौलिकपन र सांस्कृतिक धरोहरलाई प्रवासमा समेत निरन्तरता दिने प्रयास स्वरूप आयोजित यो कार्यक्रमले सबैमा अपनत्वको महसुस गराएको थियो ।

आयोजक ‘लामो अपार्ट’ले कार्यक्रममा उपस्थित हुने सम्पूर्ण नेपालीहरूलाई धन्यवाद समेत व्यक्त गरेका थिए । त्यस्तै आयोजकका अनुसार कार्यक्रम सोचेअनुरूप नै अत्यन्त भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

Leave a Reply