‘पंकज रैश्वल’ कर्मभूमि ; क्रोसिया
म क्रोएसिया केवल बाँच्न आएको होइन, केही बन्न आएको हुँ । विदेशी जीवन बाहिरबाट जति आकर्षक देखिन्छ, भित्र त्यत्तिकै मौन संघर्ष लुकेको हुन्छ । फोटोमा मुस्कान देखिए पनि त्यस मुस्कानभित्र भाषा, संस्कृति र परिस्थितिसँगको निरन्तर संघर्ष मिसिएको हुन्छ ।
नयाँ भाषा, नयाँ नियम र अपरिचित मानिसहरूबीच आफ्नो पहिचान खोज्नु सजिलो छैन । हरेक दिन कामसँगै आफैँसँग पनि लड्नुपर्छ । कामको थकानभन्दा गहिरो पीडा घरको यादले दिन्छ । फराकिला सडक र अग्ला भवनका बीच पनि मन कहिलेकाहीँ आफ्नै देशको सानो गल्लीमा पुगेर अड्किन्छ ।
आमाको माया, बुबाको सल्लाह र घरको चुलोमा बल्ने आगो—यी सम्झनाले धेरै रातहरू निदाउन दिँदैनन् । यही यादले कहिलेकाहीँ कमजोर बनाउँछ, तर फेरि यही यादले अघि बढ्ने शक्ति पनि दिन्छ ।
क्रोसियामा बसेर हामी केवल पैसा कमाइरहेका छैनौँ । हामी धैर्य सिक्दैछौँ, आत्मअनुशासन सिक्दैछौँ र आफूलाई मानसिक रूपमा बलियो बनाउँदैछौँ। यहाँ हाँसो पनि सोचेर हाँस्नुपर्छ र पीडा पनि चुपचाप सहनुपर्छ । कसैले देख्दैन, हामी कति पटक हार्ने सोचसम्म पुग्छौँ । तर सपनाले नै हामीलाई फेरि उठाउँछ ।
आज म संघर्षको भूमिमा उभिएको छु, तर भोलि यही संघर्ष सफलताको कथामा रूपान्तरण हुने विश्वास छ । यो यात्रा कठिन छ, तर यही कठिनाइले जीवनको मूल्य सिकाइरहेको छ । म रोकिन्न, किनकि म यहाँ केवल बाँच्न होइन, केही बन्न आएको हुँ ।





