लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलको राजनीति पछिल्लो समय परम्परागत सभा र र्यालीबाट डिजिटल प्लाटफर्मतर्फ तीव्र गतिमा मोडिएको छ ।
प्रविधिको यो युगमा नेताहरूको लोकप्रियता नाप्ने ब्यारोमिटरको रूपमा सामाजिक सञ्जाल, विशेषगरी फेसबुक, महत्त्वपूर्ण बनेको छ । यस डिजिटल दौडमा पोर्चुगलका अन्य स्थापित र पुराना दलका नेताहरूलाई पछि पार्दै दक्षिणपन्थी पार्टी ‘सेगा’ का अध्यक्ष आन्द्रे भेन्चुराले एकछत्र राज जमाउन सफल भएका छन् ।
पोर्चुगलका राजनीतिक हस्तीहरूको आधिकारिक फेसबुक पेजहरूको विश्लेषण गर्दा, आन्द्रे भेन्चुरा फलोअर्सको सङ्ख्या र पोस्टहरूमा आउने ‘इन्गेजमेन्ट’ (लाइक, कमेन्ट र सेयर) दुवैमा शीर्ष स्थानमा रहेका छन् । भेन्चुराको फेसबुक पेजमा हामीले अहिले समाचार तयार गर्दै गर्दासम्म ‘९ लाख ६५ हजार’ भन्दा बढी (यो सङ्ख्या निरन्तर बढ्दो क्रममा छ) फलोअर्स रहेका छन्, जुन पोर्चुगलको जनसङ्ख्या र इन्टरनेट प्रयोगकर्ताको अनुपातमा एक विशाल सङ्ख्या हो । यो सङ्ख्या पोर्चुगलका वर्तमान प्रधानमन्त्री तथा सोसियल डेमोक्रेटिक पार्टी (PSD) का नेता लुइस मोन्टेनेग्रो र प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी (PS) का नेता पेड्रो नुनो सान्तोसको फलोअर्स जोड्दा पनि भेन्चुराकै बढी हुन आउँछ ।
भेन्चुराको यो अस्वाभाविक डिजिटल लोकप्रियताको पछाडि उनको आक्रामक र सीधा संवाद शैली मुख्य कारण रहेको विश्लेषकहरू बताउँछन् । मूलधारका सञ्चारमाध्यमले आफ्ना मुद्दाहरूलाई पर्याप्त स्थान नदिएको आरोप लगाउँदै आएका भेन्चुराले सामाजिक सञ्जाललाई नै आफ्नो मुख्य राजनीतिक अस्त्र बनाएका छन् । उनी आफ्ना समर्थकहरूसँग सिधै जोडिन फेसबुक लाइभ र भिडियो सन्देशहरूको अत्यधिक प्रयोग गर्छन् ।
उनका पोस्टहरूमा आप्रवासन, भ्रष्टाचार र सुरक्षा जस्ता संवेदनशील विषयहरू उठाइने हुँदा ती सामग्रीहरू भाइरल हुने गरेका छन्, जसले गर्दा उनको फलोअर्स सङ्ख्या अन्य नेताको तुलनामा निकै फराकिलो अन्तरले अगाडि छ ।
अर्कोतर्फ, पोर्चुगलको राजनीतिमा दशकौंदेखि प्रभुत्व जमाएका मुख्य दुई दल पीएस (PS) र पीएसडी (PSD) का नेताहरूको सामाजिक सञ्जाल उपस्थिति भने केही औपचारिक र परम्परागत देखिन्छ । प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र विपक्षी नेता पेड्रो नुनो सान्तोसका फलोअर्स लाखको हाराहारीमा भए पनि भेन्चुराको तुलनामा उनीहरूको पोस्टमा आउने प्रतिक्रिया निकै कम देखिन्छ ।
अन्य साना दलहरू जस्तै लिबरल इनिसिएटिभ (IL) र लेफ्ट ब्लक (BE) का नेताहरू पनि सामाजिक सञ्जालमा सक्रिय त छन्, तर उनीहरू भेन्चुराको ‘डिजिटल प्रभाव’ को नजिक पुग्न सकेका छैनन् ।
पोर्चुगलको वर्तमान राजनीतिक परिदृश्यमा जनमत निर्माण गर्न र युवा पुस्तालाई आकर्षित गर्न फेसबुक लगायतका सामाजिक सञ्जाल निर्णायक शक्ति बनिरहेका छन् । संसदमा सिट सङ्ख्याका आधारमा अन्य दलहरू बलिया भए तापनि ‘साइबर स्पेस’ वा फेसबुकको लडाइँमा भने आन्द्रे भेन्चुरा नै निर्विवाद रूपमा सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित भएका छन् ।





