साइप्रस — ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय रहेको संस्था ‘नेपाल तामाङ घेदुङ साइप्रस’ ले तामाङ समुदायको ऐतिहासिक एवं मौलिक पर्व सोनाम ल्होछार यस वर्ष भव्यताका साथ मनाउने भएको छ ।
प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले संस्थाले यही आगामी फेब्रुअरी ८ तारिखका दिन मञ्जुश्री सम्वत् २८६२ को पावन अवसरमा एक विशेष शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।
तामाङ समुदायको यो महान् सांस्कृतिक राष्ट्रिय पर्वले यसपटक मञ्जुश्री सम्वत् २८६१ को ‘डुल/सा पुख्री’ ल्हो अर्थात् सर्प वर्गलाई बिदाइ गर्दै नयाँ वर्ष मञ्जुश्री सम्वत् २८६२ ‘ता ल्हो’ अर्थात् घोडा वर्गलाई उल्लासका साथ स्वागत गर्नेछ । लिमासोलस्थित ‘नियो फियस्टा हल’ मा आयोजना हुने यस विशेष कार्यक्रममा नेपालबाट लोकप्रिय सेलो गायक, वरिष्ठ संगीतकार तथा गीतकार विश्व दोङको गरिमामय उपस्थिति रहनेछ । उहाँको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप रौनक र उत्साह भर्ने विश्वास आयोजकले लिएको छ ।
संस्थाका अध्यक्ष प्रदीप घलान तामाङले दिएको जानकारी अनुसार, उक्त दिन नेपालबाट पाल्नुहुने अतिथि कलाकारको प्रस्तुति मात्र नभई संस्थागत रूपमा मौलिक तामाङ सांस्कृतिक गायन, परम्परागत नृत्य तथा वाद्यवादन समेत प्रस्तुत गरिनेछ ।
यसका अलावा कार्यक्रमलाई अझ समावेशी र आकर्षक बनाउन विभिन्न जातीय संस्थाहरूका मौलिक झाँकी र नृत्यहरू प्रदर्शन गरिनुका साथै साइप्रसमा बसोबास गर्दै आउनुभएका दर्जनौं स्थानीय प्रतिभाशाली कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ ।
कार्यक्रम फेब्रुअरी ८ तारिखका दिन बिहान १० बजेदेखि सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि आयोजकले प्रतिव्यक्ति २० युरो टिकटको समेत व्यवस्था गरेको छ । त्यसो त आयोजकले साइप्रसको प्रत्येक सहरबाट कार्यक्रम स्थलसम्म पुग्नको लागि बसको समेत व्यवस्था गरेको छ ।






