साइप्रस — युरोपेली युनियन (ईयु) को घुमाउरो अध्यक्षता ग्रहण गरिरहेको साइप्रसले आप्रवासन नियमन र कार्यान्वयनमा ठूलो कडाइ सुरु गरेको छ । डिसेम्बरको मध्यदेखि सुरु भएको प्रहरी छापा, कडा निगरानी र जाँच अभियानका क्रममा ठूलो संख्यामा आप्रवासीहरूलाई हिरासतमा लिइएको छ भने सयौँले देश छोड्न बाध्य भएका छन् ।
पछिल्ला महिनाहरूमा कागजात नभएका आप्रवासीहरूलाई लक्षित गर्दै साइप्रसका विभिन्न स्थानहरूमा विशेष अपरेसनहरू सञ्चालन भइरहेका छन् । स्थानीय पत्रिका ‘साइप्रस मेल’का अनुसार फेब्रुअरीमा मात्रै दुईवटा लक्षित कारबाही गरियो, जसमा कागजात जाँच गर्ने र अवैध बसोबास रोक्ने उद्देश्य राखिएको थियो । फेब्रुअरी १७ को प्रतिवेदन अनुसार, अवैध रूपमा बसोबास गरेको आरोपसहित नौ जनालाई पक्राउ गरिएको छ ।
यसअघि जनवरीमा पनि देशभर बिहान ६ बजेदेखि दिउँसोसम्म चलेको ६ घण्टा लामो समन्वित प्रहरी कारबाहीमा तेस्रो मुलुकका ३१ नागरिकलाई नियन्त्रणमा लिइएको थियो । ‘फिलेन्यूज’का अनुसार, तीमध्ये सात जनालाई तत्कालै देश निकाला गरियो भने बाँकीलाई द्रुत देशनिकाला प्रक्रियामा लगिएको छ ।
अधिकारीहरूका अनुसार यो कदम अनियमित आप्रवासनसँग यो सानो टापु राष्ट्रले गरिरहेको निरन्तरको संघर्षको एक हिस्सा हो ।
तथ्याङ्क अनुसार, डिसेम्बरको मध्यदेखि हालसम्म १ सय ६० भन्दा बढी व्यक्तिलाई हिरासत केन्द्र र जेलबाट सिधै देश निकाला गरिएको छ । देशनिकाला गरिएकाहरूमा मुख्यतया शरणका लागि दिएको निवेदन अस्वीकृत भएकाहरू र आपराधिक गतिविधिका कारण शरणको अधिकार गुमाएका व्यक्तिहरू रहेका छन् । यसबाहेक, सोही अवधिमा ४ सय ७९ जना अनियमित आप्रवासी र अस्वीकृत शरणार्थीहरूले स्वेच्छाले देश छोडेको साइप्रसका अधिकारीहरूले जनाएका छन् ।





