Home Login
संघ-संस्था

राजेश पायल राई र नवाङ लामाको कार्यक्रम पोर्चुगलमा अन्तिम तयारी

लिस्बन (पोर्चुगल) तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछारको पावन अवसरमा पोर्चुगलको राजधानी लिस्बन, नेपाली मौलिक कला र संस्कृतिको रङ्गीन उत्सवमा झुम्न तयार भएको छ ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा हुन गइरहेको ऐतिहासिक एवं बृहत सांस्कृतिक कार्यक्रमको तयारी अब अन्तिम चरणमा पुगेको छ । प्रवासको व्यस्त जीवनका बाबजुद पनि आफ्नो मौलिक पहिचान, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने पवित्र उद्देश्य बोकेर घेदुङले यस वर्षको ल्होछारलाई विशेष सांगीतिक साँझ र शुभकामना आदानप्रदान कार्यक्रमका रूपमा मनाउने निर्णय गरेको हो ।

यस वर्षको ल्होछार कार्यक्रम पोर्चुगलबासी नेपालीहरूका लागि विगतका वर्षहरूभन्दा निकै खास र अविष्मरणीय हुने देखिएको छ । कार्यक्रमलाई सांगीतिक उचाइ दिन र भव्यता प्रदान गर्न नेपालका सुप्रसिद्ध गायक तथा ‘राई इज किङ’ का उपनामले परिचित राजेश पायल राई लिस्बन आउने पक्का भएको छ । आफ्नो जादुमय स्वर र दर्जनौं हिट गीतहरूमार्फत देश तथा विदेशमा लाखौं प्रशंसकको मन जित्न सफल राईको उपस्थितिले लिस्बनको माहोल तताउने निश्चित छ । नेपाली सुगम संगीत र पाश्र्व गायनका हस्ती मानिने राईको ‘लाइभ’ प्रस्तुति हेर्न र सुन्नका लागि पोर्चुगलमा रहेका नेपालीहरू व्यग्र प्रतिक्षामा रहेका छन् ।

सांगीतिक माहोललाई अझ तताउन राजेश पायल राईसँगै चर्चित रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का लोकप्रिय प्रतियोगी तथा युवा गायक नवाङ लामा पनि पहिलो पटक पोर्चुगलको मञ्चमा उत्रिनेछन् । युवा पुस्तामाझ निकै लोकप्रिय रहेका लामाको बेजोड सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई छमछमी नचाउने र भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास आयोजकले लिएको छ । यी दुई मुख्य कलाकारहरूका अलावा स्थानीय तथा अन्य चर्चित कलाकारहरूको विशेष प्रस्तुतिले कार्यक्रमलाई सुनमा सुगन्ध थप्नेछ ।

यो विशेष कार्यक्रम यही आउँदो जनवरी २५ तारिख, आइतबारका दिन पोर्चुगलको राजधानी लिस्बनस्थित प्रसिद्ध कार्यक्रम स्थल ‘रिपब्लिका द मुसिका’ मा आयोजना गरिँदैछ । भव्य हल र स्तरीय साउन्ड सिस्टमका लागि परिचित यस स्थानमा हुने ल्होछार विशेष कार्यक्रमले पोर्चुगलको नेपाली डायस्पोरामा नयाँ उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ ।

आयोजक नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अनुसार, यो कार्यक्रम केवल नाचगान र मनोरञ्जनमा मात्र सीमित रहने छैन । यसले सात समुद्र पारिको विरानो भूमिमा पनि तामाङ जातिको मौलिक भेशभूषा, भाषा, धर्म र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने लक्ष्य राखेको छ । विशेष गरी प्रवासमा हुर्कँदै गरेको नयाँ पुस्तालाई आफ्नो जरा, इतिहास र पहिचानसँग जोड्नका लागि यस्ता सांस्कृतिक कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने आयोजकको ठहर छ । आपसी भाइचारा, सद्भाव र एकताको सन्देश बोकेको यस कार्यक्रमले सम्पूर्ण पोर्चुगलबासी नेपालीहरूलाई एकै थलोमा ल्याएर आपसमा खुसी साटासाट गर्ने सुनौलो अवसर प्रदान गर्नेछ ।

Leave a Reply