Home Login
राजनीति

फागुन २१ लक्षित चुनावी विमर्श ; टिकटक लाइभमा नेता–उम्मेदवारसँग अन्तरक्रिया

काठमाडौं — फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मनोरञ्जनका लागि परिचित माइक्रो–ब्लगिङ एप टिकटकमा दलका नेता तथा उम्मेदवारहरूलाई आमन्त्रण गरेर चुनावी विमर्श सुरु गरिएको छ ।

गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि समसामयिक राजनीतिक विषयमा निरन्तर बहस चलाउँदै आएको नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव अशिम लोप्चन तामाङसहितको टिमले निर्वाचनलाई लक्षित गर्दै टिकटक लाइभमार्फत अन्तरक्रिया सुरु गरेको हो ।

आयोजक टिमले देशका विभिन्न क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार, पूर्वप्रधानमन्त्री तथा अन्य प्रतिष्ठित व्यक्तित्वलाई आमन्त्रण गरी निर्वाचनको मौन अवधि सुरु हुनुअघि सम्म कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल सहभागी भइसकेका छन् । गत बुधबार टिकटक लाइभमा उपस्थित नेपाललाई सहभागीहरूले निर्वाचनकेन्द्रित तिखा प्रश्नहरू राखेका थिए । करिब एक लाख हजारभन्दा बढी दर्शक सहभागी रहेको उक्त लाइभमा उनले आफ्ना दलका नीति, कार्यक्रम र मत किन दिनुपर्ने भन्ने विषयमा धारणा राखेका थिए ।

यसअघि झापा–३ का डिल्लीराम घिमिरे, सुर्खेत–२ का झकबहादुर मल्ल, सल्यानका रमेशकुमार मल्ल, लमजुङका हरिजंग तामाङ, कालीकोटका महेन्द्रबहादुर शाही, उदयपुरका विनोद कटुवाल, चितवन–३ की रेनु दाहाल, नुवाकोट–२ का हीरानाथ खतिवडा, झापा–५ का रञ्जित तामाङ तथा रोल्पाका वर्षमान पुनलगायत नेताहरू अन्तरक्रियामा सहभागी भइसकेका छन् । आगामी दिनमा राजकाजी गुरुङ र पर्शुराम तामाङलगायत नेताहरूलाई पनि आमन्त्रण गर्ने तयारी रहेको कार्यक्रमका को–होस्ट मनोजकुमार अधिकारीले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा चुनावकेन्द्रित बहसभन्दा गालीगलौज, घृणा र उत्तेजना फैलिरहेको सन्दर्भमा स्वस्थ, सार्थक र अर्थपूर्ण विमर्श स्थापित गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको आयोजकको भनाइ छ ।

टिकटक लाइभमार्फत गरिने अन्तरक्रिया हरेक दिन नेपाली समयअनुसार राति ९ बजे सञ्चालन हुँदै आएको छ । विश्वभर छरिएका नेपाली समुदायलाई उक्त संवादमा सहभागी भई सहयोग गर्न आयोजक पक्षले आग्रह गरेको छ ।

कार्यक्रमको होस्ट स्पेनमा रहेका अशिम लोप्चन तामाङले गरिरहेका छन् भने अस्मी स्याङ्तान (यूएई), मनोजकुमार अधिकारी (फ्रान्स), सुरज किराँती, सञ्जाल किराँती बि. बि स्याङतान  (दक्षिण कोरिया), अञ्जन कुँवर (जापान), रमिला बुढाथोकी र समिता तामाङ (नेपाल) लगायत को–होस्टका रूपमा रहेका छन् ।

Leave a Reply