Home Login
राजदूतावास

राजदूतावासद्वारा राहदानी सेवालाई विशेष प्राथमिकता ; यो साता ३ सय जनालाई सेवा दिइने

स्पेन — नेपाली राजदूतावासले भोलि सोमबारदेखि राहदानी (पासपोर्ट) सम्बन्धी सेवालाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै, दूतावासले आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार, यो नयाँ व्यवस्था अन्तर्गत चालु हप्तामा ३ सय  जना सेवाग्राहीलाई राहदानी सेवा प्रदान गरिनेछद। यो संख्या हालको व्यवस्थापन र सहजताका लागि तय गरिएको हो । सेवा प्रवाहको अवस्था र सहजताको मूल्याङ्कन गरेर आगामी हप्तादेखि सेवाग्राहीको यो संख्यालाई क्रमशः बढाउँदै लैजाने योजना समेत दूतावासले बनाएको छ । यस कदमले राहदानीको पर्खाइमा रहेका धेरै नेपाली नागरिकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

सेवाको कोटा तोकिएको भए तापनि कुनै पनि नेपाली नागरिक राहदानी प्राप्त गर्ने अधिकारबाट वञ्चित नहुने कुरामा राजदूतावासले सबैलाई आश्वस्त पारेको छ । सबै सेवाग्राहीले सहज रूपमा सेवा पाउने र कसैले पनि अवसर गुमाउनु नपर्ने भन्दै दूतावासले नागरिकहरूलाई नआत्तिन र धैर्य गर्न आग्रह गरेको छ । यो व्यवस्थाले अनावश्यक भीडभाड कम गरी सेवालाई छिटो र छरितो बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

साथै, बजारमा चल्ने विभिन्न भ्रामक कुराहरूप्रति सचेत रहन पनि दूतावासले विशेष अनुरोध गरेको छ । राहदानी सेवा रोकिने वा अवसर नपाइने जस्ता तथ्यहीन हल्लाको पछि नलाग्न र एक जिम्मेवार तथा सचेत नागरिकको हैसियतले दूतावासको आधिकारिक सूचनालाई मात्र आधार मान्न आग्रह गरिएको छ ।

दूतावासले आफ्ना नागरिकहरूको सुविधाका लागि कटिबद्ध रहेको सन्देश दिँदै सबैलाई संयमित भएर सेवा लिन अनुरोध गरेको छ ।

Leave a Reply