ग्रीस — भियनास्थित नेपाली राजदूतावासले ग्रीसमा रहेका नेपाली नागरिकहरूका लागि राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवा प्रदान गर्न विशेष ‘घुम्ती सेवा’ सञ्चालन गर्ने भएको छ । दूतावासले हालै एक सार्वजनिक सूचना जारी गर्दै आगामी मार्च १७ देखि २० तारिखसम्म ग्रीसका विभिन्न सहरमा पुगेर सेवा दिने जानकारी दिएको हो ।
यस कार्यक्रम अन्तर्गत मार्च १७ र १८ तारिखमा एथेन्सको ‘एगियोस दिमित्रियोस’ (Leoforos Vouliagmenis 311) बाट सेवा प्रवाह गरिनेछ भने मार्च १९ र २० तारिखमा मनोलाडास्थित ‘रोयल क्लब होटल’ मा सेवा सञ्चालन हुनेछ । दुवै स्थानमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिने दूतावासले जनाएको छ ।
राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीले अनलाइन आवेदनका लागि आगामी फेब्रुअरी २४ मा खोलिने ‘टाइम स्लट’ सुरक्षित गर्नुपर्नेछ । आवेदकहरूले राहदानी विभागको वेबसाइटमा गएर व्यक्तिगत विवरणहरू भरेपछि ‘अपोइन्टमेन्ट कन्ट्री’ मा ‘Other’ र ‘लोकेसन’ मा ‘NE Vienna’ छनोट गर्नुपर्ने प्रावधान राखिएको छ । अनलाइन फाराम भरिसकेपछि प्राप्त हुने बारकोड सहितको प्रतिलिपि, हालको राहदानी र नागरिकताको स्क्यान कपी (PDF) मार्च ३, २०२६ भित्र दूतावासको आधिकारिक इमेल (attache@nepalmission.at) मा अनिवार्य रूपमा पठाउनुपर्नेछ ।
राजदूतावासले सेवा शुल्कको विवरण पनि सार्वजनिक गरेको छ, जस अनुसार नियमित राहदानी नवीकरणका लागि १२० युरो, हराएको वा बिग्रिएको राहदानीको हकमा १८० युरो र नाबालिगको राहदानीका लागि ६० युरो तोकिएको छ । यो रकम आवेदकले बैंक अस्ट्रिया-युनिक्रेडिट (Bank Austria-Unicredit) मा रहेको दूतावासको खातामा अनलाइनमार्फत जम्मा गर्नुपर्नेछ ।
रकम ट्रान्सफर गर्दा ‘रेफरेन्स’ मा अनिवार्य रूपमा आवेदकको नाम उल्लेख गर्न र सोको जानकारी दूतावासलाई दिन समेत अनुरोध गरिएको छ ।
समयमै कागजात रुजू नभएका वा बैंकिङ माध्यमबाट शुल्क जम्मा नगरेका आवेदकहरूको बायोमेट्रिक लिन नसकिने हुँदा सबै प्रक्रिया पुर्याउन दूतावासले आग्रह गरेको छ । सेवा लिन आउँदा इमेलमार्फत पठाइएका सम्पूर्ण कागजातहरूको एक सेट प्रिन्ट साथमा लिएर आउनुपर्नेछ । थप जानकारीका लागि दूतावासको फोन नम्बर वा ग्रीसस्थित नेपाली संस्थाका प्रतिनिधि श्रीकृष्ण पोखरेललाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।






