ओमान — ओमानको मस्कटस्थित नेपाली राजदूतावास र त्यहाँको प्रतिष्ठित स्वास्थ्य संस्था बदर अल समा अस्पताल समूहबीच नेपाली समुदायलाई लक्षित गर्दै स्वास्थ्य सेवा सम्बन्धी एक महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । २२ फेब्रुअरी २०२६ का दिन सम्पन्न यस सम्झौताले वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा ओमानमा रहेका हजारौं नेपाली नागरिकलाई स्वास्थ्य उपचारमा निकै ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
राजदूतावासमा आयोजित उक्त सम्झौता समारोहमा नेपालका तर्फबाट ओमानका लागि महामहिम राजदूत डोरनाथ अर्याल र बदर अल समा अस्पताल समूहका तर्फबाट कार्यकारी निर्देशक मोइदिन बिलालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
यस ऐतिहासिक कार्यक्रममा नेपाली राजदूतावासका प्रथम सचिव विशेष कुमार साहलगायत अस्पतालका अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
यस नयाँ सम्झौताले ओमानमा बसोबास गर्ने नेपालीहरूका लागि गुणस्तरीय स्वास्थ्य उपचारको पहुँचलाई थप सहज बनाएको छ । समझदारीअनुसार अब अस्पतालले नेपाली समुदायका लागि समय-समयमा विभिन्न निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गर्नेछ । यसका साथै, नेपाली राजदूतावासको आधिकारिक सिफारिस लिएर जाने नेपाली नागरिकहरूलाई अस्पतालले उपचार खर्चमा विशेष सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्नेछ । बिरामीको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले अन्य आवश्यक चिकित्सकीय सहयोगसमेत उपलब्ध गराउने सहमति भएको छ ।

प्रवासमा रहेका नेपालीहरूले बिरामी पर्दा भोग्नुपरेको महँगो उपचार खर्चलाई दृष्टिगत गर्दै दूतावासले चालेको यो कदमलाई निकै सकारात्मक रूपमा लिइएको छ । यस समझदारीले ओमानमा कार्यरत सम्पूर्ण नेपाली समुदायको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने र उनीहरूलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न कोसेढुङ्गा साबित हुने विश्वास राजदूतावासले व्यक्त गरेको छ ।





