बर्लिन (जर्मनी) — नेपाली राजदूतावास बर्लिनले पोल्याण्डमा रहेका नेपाली नागरिकहरूका लागि राहदानी (पासपोर्ट) वितरण सम्बन्धी विशेष तालिका सार्वजनिक गरेको छ । गत जनवरी २ देखि ५ तारिखसम्म पोल्याण्डको भ्रोस्वाभ शहरमा सञ्चालन गरिएको घुम्ती शिविरमार्फत आवेदन दिएका नेपालीहरूको राहदानी तयार भई राजदूतावासमा प्राप्त भएकाले ती राहदानीहरू पोल्याण्डका विभिन्न शहरमा पुगेर वितरण गर्न लागिएको हो ।
राजदूतावासका अनुसार राहदानी वितरणका लागि आगामी मार्च ७ देखि ९ तारिखसम्म पोल्याण्डका तीन प्रमुख शहरहरूमा विशेष समय र स्थान निर्धारण गरिएको छ । जसअनुसार मार्च ७ तारिखका दिन भ्रोस्वाभस्थित हिमालयन रेस्टुरेन्टमा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म राहदानी वितरण गरिनेछ । त्यसैगरी, मार्च ८ तारिखका दिन वोज शहरको थर्ड आइज रेस्टुरेन्टमा र मार्च ९ तारिखका दिन राजधानी वार्सास्थित एभरेष्ट रेस्टुरेन्टमा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म राहदानी संकलन गर्न सकिनेछ ।
राहदानी लिन आउने आवेदकहरूले आफूसँग हाल प्रयोगमा रहेको पुरानो राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने राजदूतावासले जनाएको छ । विशेष कारणवश आवेदक स्वयं उपस्थित हुन नसक्ने अवस्थामा भने मन्जुरीनामा र पुरानो राहदानीसहित आधिकारिक प्रतिनिधि पठाउन सकिने व्यवस्था गरिएको छ । यद्यपि, एक व्यक्तिले एकजना भन्दा बढीको राहदानी संकलन गर्न नपाउने नियम बनाइएको छ ।
यो वितरण प्रक्रियालाई सहज बनाउन राजदूतावासले रन्जन यादव, डा. बोधराज सुवेदी र दीपेन्द्र अधिकारीलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ । पोल्याण्डस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । थप जानकारीका लागि राजदूतावासको आधिकारिक वेबसाइट वा तोकिएका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।






