Home Login
राजदूतावास

बर्लिनमा नेपालको सान ; ‘नेपाल साँझ’ मार्फत पर्यटन प्रवर्द्धन

बर्लिन (जर्मनी) जर्मनीको बर्लिनमा जारी विश्व प्रसिद्ध पर्यटन मेला ‘आईटीबी बर्लिन २०२६’ को अवसर पारेर नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल साँझ’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मार्च ३ तारिखमा आयोजित उक्त विशेष समारोहमा नेपालको अद्वितीय पर्यटन क्षेत्र, कला, संस्कृति र लगानीका सम्भावनाहरूको बारेमा विश्व समुदायलाई जानकारी गराइयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बर्लिनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागर प्रसाद फुयाँलले नेपालको मौलिक कला र संस्कृतिको चर्चा गर्नुभयो । उहाँले नेपालमा वैदेशिक लगानीका लागि प्रशस्त अवसरहरू रहेको उल्लेख गर्दै नेपाल र जर्मनीबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यवाहक राजदूत फुयाँलले जर्मन नागरिक तथा विश्वभरका पर्यटकहरूलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक र सांस्कृतिक सुन्दरताको अनुभव लिन विशेष आग्रह समेत गर्नुभयो ।

सोही अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सृजना नेपालीले ‘डेस्टिनेशन नेपाल’ शीर्षकमा प्रस्तुतीकरण दिँदै नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था र विकासका लागि भइरहेका प्रयासहरूबारे प्रकाश पार्नुभयो । उहाँले विश्वका पर्यटकहरूका लागि नेपाल किन एक उत्कृष्ट गन्तव्य हो भन्नेबारे ठोस कारणहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (UNWTO) का पूर्व सहायक महासचिव प्रोफेसर जेफ्री लिपम्यानले वातावरणीय चुनौतीको सामना गर्न दिगो पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै, वर्ल्ड ट्राभल नेटवर्कका अध्यक्ष जुर्गेन स्टिनमेट्जले नेपाल भ्रमणका आफ्ना ४० वर्षका अनुभवहरू सुनाउनुभएको थियो भने एडभेन्चर ट्राभल ट्रेड एसोसिएसन (ATTA) की क्षेत्रीय निर्देशक हन्ना पियर्सनले नेपालको साहसिक पर्यटनको सम्भावना र यहाँका द्रुत बग्ने नदी तथा पदयात्रा मार्गहरूको महत्त्वबारे चर्चा गर्नुभयो ।

नेपाली कला र संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञहरू, पर्यटन व्यवसायीहरू, नेपाली समुदायका प्रतिनिधिहरू र सञ्चारकर्मी गरी करिब २ सय जनाको सहभागिता रहेको थियो । समारोहमा पाहुनाहरूलाई नेपाली पहिचानको प्रतीक ‘ढाका टोपी’ लगाइदिएर स्वागत गरिएको थियो भने औपचारिक कार्यक्रम पश्चात् मौलिक नेपाली भोजनका साथै पर्यटन प्रवर्द्धनका सामग्रीहरू वितरण गरिएको थियो ।

राजदूतावासका प्रथम सचिव रञ्जन यादवले सञ्चालन गर्नुभएको यस कार्यक्रमअघि कार्यवाहक राजदूत फुयाँलले आईटीबी बर्लिनमा ‘नेपाल प्याभिलियन’ को उद्घाटन गर्नुभएको थियो । यस वर्षको पर्यटन मेलामा नेपाल पर्यटन बोर्ड र नेपालका २५ वटा निजी पर्यटन कम्पनीहरूको सहभागिता रहेको छ । यो अन्तर्राष्ट्रिय व्यापार मेला मार्च ५ सम्म चल्नेछ ।

Leave a Reply