Home Login
राजदूतावास

पोल्याण्डमा राहदानी वितरणको तालिका सार्वजनिक, तीन शहरमा शिविर सञ्चालन हुने

बर्लिन (जर्मनी) नेपाली राजदूतावास बर्लिनले पोल्याण्डमा रहेका नेपाली नागरिकहरूका लागि राहदानी (पासपोर्ट) वितरण सम्बन्धी विशेष तालिका सार्वजनिक गरेको छ । गत जनवरी २ देखि ५ तारिखसम्म पोल्याण्डको भ्रोस्वाभ शहरमा सञ्चालन गरिएको घुम्ती शिविरमार्फत आवेदन दिएका नेपालीहरूको राहदानी तयार भई राजदूतावासमा प्राप्त भएकाले ती राहदानीहरू पोल्याण्डका विभिन्न शहरमा पुगेर वितरण गर्न लागिएको हो ।

राजदूतावासका अनुसार राहदानी वितरणका लागि आगामी मार्च ७ देखि ९ तारिखसम्म पोल्याण्डका तीन प्रमुख शहरहरूमा विशेष समय र स्थान निर्धारण गरिएको छ । जसअनुसार मार्च ७ तारिखका दिन भ्रोस्वाभस्थित हिमालयन रेस्टुरेन्टमा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म राहदानी वितरण गरिनेछ । त्यसैगरी, मार्च ८ तारिखका दिन वोज शहरको थर्ड आइज रेस्टुरेन्टमा र मार्च ९ तारिखका दिन राजधानी वार्सास्थित एभरेष्ट रेस्टुरेन्टमा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म राहदानी संकलन गर्न सकिनेछ ।

राहदानी लिन आउने आवेदकहरूले आफूसँग हाल प्रयोगमा रहेको पुरानो राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने राजदूतावासले जनाएको छ । विशेष कारणवश आवेदक स्वयं उपस्थित हुन नसक्ने अवस्थामा भने मन्जुरीनामा र पुरानो राहदानीसहित आधिकारिक प्रतिनिधि पठाउन सकिने व्यवस्था गरिएको छ । यद्यपि, एक व्यक्तिले एकजना भन्दा बढीको राहदानी संकलन गर्न नपाउने नियम बनाइएको छ ।

यो वितरण प्रक्रियालाई सहज बनाउन राजदूतावासले रन्जन यादव, डा. बोधराज सुवेदी र दीपेन्द्र अधिकारीलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ । पोल्याण्डस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । थप जानकारीका लागि राजदूतावासको आधिकारिक वेबसाइट वा तोकिएका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

( नेपाली राजदूतावास बर्लिनले सार्वजनिक गरेको सूचना )

Leave a Reply