Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए माल्टाको नेतृत्व संकट समाधानतर्फ

माल्टा — गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय कार्यसमितिले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टामा देखिएको नेतृत्व संकट, सदस्यता विवाद तथा अधिवेशन प्रक्रिया अवरुद्ध अवस्थालाई मध्यनजर गर्दै सात सदस्यीय महाधिवेशन समिति गठन गरेको छ ।

एनसीसी माल्टाले तोकिएको समयभित्र अधिवेशन मिति घोषणा गर्न नसकेको, सदस्यता विवाद समाधान गर्न असफल भएको र केन्द्रीय विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकेको निष्कर्षपछि केन्द्रीय कार्यसमितिले सक्रिय हस्तक्षेप स्वरूप सो समिति गठन गरेको हो ।

समितिको संयोजकमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य तथा युरोप क्षेत्रीय समिति सचिव भुवन अर्याललाई तोकिएको छ । उहाँ विगत लामो समयदेखि एनआरएनए आन्दोलनमा सक्रिय छन् । संस्थागत अनुभव र समावेशी नेतृत्व क्षमताका कारण केन्द्रीय कार्यसमितिले अर्याललाई संयोजक तोकेको हो ।

सदस्य सचिवको जिम्मेवारी भने नेपाली समाज माल्टाका निवर्तमान अध्यक्ष एवम् एनआरएनए माल्टाका सल्लाहकार दिनेश कार्कीलाई दिइएको छ । अन्य सदस्यहरूमा आईसीसी सदस्य नवीन गिरी, गोविन्द खरेल, पत्रकार प्रकाश बगाले, समाजसेवी मिलन पोख्रेल र कमल पोख्रेल रहेका छन् । सबै पक्ष र क्षेत्रको प्रतिनिधित्व समेट्ने गरी समिति गठन गरिएको जानकारी दिइएको छ ।

समितिका संयोजक अर्यालले भने, ‘वर्तमान नेतृत्व संकट समाधान गर्दै संस्थालाई एकताबद्ध बनाई नयाँ नेतृत्व निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो । हामी कुनै एक पक्षलाई स्थापित गर्न आएका होइनौं । सबै पक्षलाई समेटेर पारदर्शी, निष्पक्ष र समावेशी प्रक्रियाबाट विश्वसनीय नेतृत्व निर्माण गर्ने हाम्रो प्रतिबद्धता छ’ ।

सदस्य सचिव दिनेश कार्कीले पनि समितिले निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘संस्थामा देखिएको अन्योल अन्त्य गर्दै सबैको सहभागितामा नयाँ नेतृत्व निर्माणमा हामी गम्भीर छौं । विवाद होइन, सहकार्यको बाटो अपनाएर एनआरएनए माल्टालाई फेरि सशक्त बनाउने हाम्रो लक्ष्य हो’ ।

उहाँले थपे, ‘महाधिवेशन समितिमा रही सबै पक्षलाई समेट्ने साझा संरचना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछु । संस्था सबैको हो भन्ने भावनासहित निष्पक्ष प्रक्रियाबाट अघि बढ्ने हाम्रो अठोट छ’ ।

गत केही समयदेखि एनआरएनए माल्टामा आन्तरिक विवाद, सदस्यता सम्बन्धी गुनासा र अधिवेशन स्थगनले संस्थागत गतिशीलता कमजोर बनाएको थियो । निष्पक्षता र पारदर्शितामाथि उठेका प्रश्नहरू तथा निर्वाचन प्रक्रियामा उत्पन्न अन्योलताका कारण केन्द्रीय कार्यसमितिलाई हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो ।

गठित समितिलाई आवश्यक सबै अधिकार प्रदान गरिसकिएको छ । समितिले चाँडै अधिवेशन मिति घोषणा गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको बुझिएको छ ।

केन्द्रीय तहबाट गरिएको यो पहललाई सकारात्मक रूपमा लिइएको छ । समितिले सबै पक्षलाई समेट्दै निष्पक्ष र समावेशी प्रक्रियाबाट काम गर्न सकेमा एनआरएनए माल्टा पुनः एकीकृत, सशक्त र दिगो संरचनासहित अघि बढ्ने विश्वास माल्टाबासी नेपालीहरुको रहेको छ ।

 

Leave a Reply