स्पेन — कागजातविहीन आप्रवासीलाई रेसिडेन्सी (वैधानिकता) दिने स्पेन सरकारको तयारीसँगै त्यहाँ रहेका हजारौं नेपालीहरूमा खुसीको सञ्चार भए पनि राहदानी (पासपोर्ट) को अभावले ठूलो चिन्ता थपिएको थियो ।
स्पेनस्थित नेपाली दूतावासमा सीमित जनशक्ति र स्रोतसाधन हुँदा छोटो समयमै हजारौंको सङ्ख्यामा राहदानी नवीकरण तथा जारी गर्नुपर्ने चुनौती देखिएको थियो । एक-दुई महिनाभित्रै राहदानी नबने स्पेन सरकारले प्रदान गर्न लागेको यो ‘सुनौलो अवसर’ गुम्ने जोखिमले नेपाली समुदायमा अन्योल र नैराश्यता छाएको थियो । तर, यही संकटको घडीमा भरतपुर महानगरपालिकाका निवर्तमान मेयर रेणु दाहालले देखाउनुभएको तत्परता र पहलकदमीले स्पेनबासी नेपालीलाई ठूलो राहत मिलेको छ ।
राहदानीको अभावमा स्पेनमा रहेका नेपालीहरूले वैधानिकता गुमाउन सक्ने जोखिमको खबर र चर्चा चुलिएपछि यसको समाधानका लागि पहल सुरु गरिएको थियो । सोही क्रममा भरतपुर महानगरकी निवर्तमान मेयर रेणु दाहालसँग नेपाली जनप्रगतीशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलले सम्पर्क गरी समस्याको गाम्भीर्यताबारे जानकारी गराउनुभयो । चुनावी दौडधुप र व्यस्तताको बीचमा पनि उहाँले प्रवासी नेपालीको पीडालाई गम्भीरतापूर्वक लिनुभयो । “यताबाट म के सहयोग गरौँ भाइ ?” भन्दै उहाँले देखाउनुभएको चासोमा स्पेनमा रहेका नेपाली अगुवाहरूले कम्तीमा विभिन्न स्थानमा ‘घुम्ती शिविर’ चलाउन नेपालबाट प्राविधिक टोली पठाउन सके निकै सहज हुने सुझाव राखेका थिए । उहाँको यो अभिभावकीय चासो केवल आश्वासनमा मात्र सीमित रहेन, उहाँले लगत्तै परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै समन्वयको काम अघि बढाउनुभयो ।
रेणु दाहालको विशेष पहल र समन्वयको नतिजास्वरूप अब स्पेनका नेपालीहरूको समस्या समाधान उन्मुख भएको छ । उहाँको आग्रहलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयले राहदानी घुम्ती शिविर सञ्चालनका लागि यही साता नेपालबाटै विशेष टोली स्पेन पठाउने तयारी गरेको छ । साथै, अनलाइन आवेदनका लागि स्लटहरूको सङ्ख्या पनि बढाइएको छ, जसले गर्दा राहदानी छिटो बनेर आउने वातावरण बनेको छ । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र स्पेनस्थित नेपाली दूतावास यतिबेला नेपालीहरूको समस्या समाधानमा निकै सकारात्मक र सक्रिय रूपमा लागेका छन् । चुनावी व्यस्तताका बाबजुद पनि उहाँले देखाउनुभएको यो सद्भाव र पहलका लागि स्पेनबासी नेपालीहरूले आभार व्यक्त गरेका छन् ।
यस कार्यमा नेपाली जनप्रगतिशील मञ्च युरोप र स्पेनले पनि निरन्तर खबरदारी र समन्वय गरिरहेका छन् । मञ्चका युरोप उपाध्यक्ष गंगाप्रसाद भुषाल, स्पेनका अध्यक्ष विशाल ढुङ्गाना लगायतको टिमले सम्बन्धित निकायमा निरन्तर घच्घचाइरहेको थियो । स्पेन तथा युरोपका विभिन्न नेपाली सङ्घसंस्थाको सहकार्य र नेपालबाट भएको उच्चस्तरीय पहलले अब जटिलता र अन्योल हटेको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले हरेक क्षेत्रमा हुने शिविरमा अनुभवी तथा दक्ष कम्तीमा १० जना स्वयंसेवक खटाउँदै स्पेनस्थित नेपाली राजदूतावासलाई सघाउने प्रतिबद्धता जनाएको छ ।
आप्रवासन सम्बन्धी नयाँ नियम राजपत्रमा प्रकाशित भएलगत्तै नवआगन्तुक नेपालीलाई थप सहयोग गर्न मञ्च तत्पर रहेको बताउँदै, सबैलाई धैर्य र संयम भई बेलैमा राहदानी बनाएर यो सुनौलो अवसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।





